Friday, 11, June, 2021

आरोप–प्रत्यारोपले नेकपा गम्भीर संकटमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चरम संकटको घडीमा छ । पार्टीका स्वघोषित अध्यक्षहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच देखिएको आन्तरिक संघर्षले पार्टी एकतामाथि नै प्रश्नचिन्ह खडा गरेको छ ।

पार्टी एकताको औपचारिक घोषणा गरेको केही समयसम्म मात्र मिलेका उनीहरु पछिल्लो समयमा आएर एकले अर्कालाई राजनीतिक रुपमा सिध्याउने अभियानमा लागेका छन् । एकताका बेलामा गरिएका सहमति मान्ने कुरामा ओली पछि हटेपछि देखिएको विवादले पार्टीमा नराम्रो असर पारेको छ । आलोपालो प्रधानमन्त्री हुने सहमतिलाई छोडेर आफू एक्लै पार्टी चलाउन राजी भएका प्रचण्डलाई ओलीले त्यहीँबाट नै कमजोर ठानेर हरेक ठाउँमा पेल्दै आए । प्रचण्डको इमान्दारितामाथि खेलवाड गर्दै ओलीले पार्टी र सरकार दुवै कब्जा गरेपछि पार्टीमा विभाजन सुरु भयो । प्रचण्डले सरकारको नेतृत्व गर्ने पालो आउनुभन्दा केही अघिबाट सुरु भएको विवादले अहिले उग्ररुप लिएको छ । नेकपालाई आएको मत आफ्नै कारणको परिणाम हो भन्दै लिडेढिप्पी गर्दै आएका ओलीले पार्टीमा आफूबाहेक अरु कोही पनि नेता देखेका छैनन् ।

एकता कमजोरले गर्ने हो । कोही पनि आफू सक्षम भए अरुसँग खुसामत गर्नु पर्दैन । तत्कालीन एमाले एक्लैले राष्ट्रिय राजनीतिमा आफ्नो वर्चश्व राख्ने अवस्था कमजोर बन्दै गएपछि तत्कालीन नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धनसँगै पार्टी एकतासम्म गर्ने गरी सहमत भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम उनीहरुले सोचेभन्दा राम्रै आयो । नसोचेको परिणाम आएपछि मात्तिएको नेकपा आफ्नै कारणले क्रमशः पतनको बाटोमा लागिरहेको छ । एमालेले अर्को पार्टीलाई अवसर दिने बेलामा त्यो पार्टी केही होइन जनमत नै छैन भन्ने र माओवादीले पनि एमालेलाई आफ्नो सहयोग नभए एमाले पनि सकिन्थ्यो भन्ने कुरा गर्नु नै एकताविरोधी कदम थियो ।

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter’s Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

२०७५ जेष्ठ ३ गते औपचारिक रुपमा पार्टी एकता गरेका उनीहरुले तीन महिनाभित्रमा एकताका सबै काम टुंग्याउने भन्दै आएका थिए तर त्यस्ता तीन महिना १० वटा बितिसक्दा पनि अझै धेरै काम बाँकी छ । ओली र प्रचण्ड एकले अर्कालाई आरोप लगाएर आफू उम्कने प्रयास गरिरहेका छन् । कार्यकर्ताको चाहनाविपरीत गएका नेताहरुको स्वभावका कारण पार्टीमै गम्भीर संकट देखापरेको छ । ओलीइतर ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट नै राजीनामा दिनुपर्छ भनेर लागेका छन् तर ओलीको अनावश्यक अडानका कारण त्यो सम्भव छैन । ओलीले यसअघि प्रचण्डलाई सँगै जान नसकिने भएकाले अलग अलग जाउँ समेत भनिसकेका छन् । माओवादीसँग एकता गरेर भरपुर फाइदा लिएका ओलीले प्रचण्डमात्र होइन अरु कुनै नेतालाई पनि नेता मानेका छैनन् । आफूले मात्र राज्यको सम्पूर्ण स्रोत र साधनमा रजाइँ गर्न पाउनुपर्छ भनेर लागेका ओलीले देश र जनताको भावनामाथि खेलवाड गर्दै आएका छन् ।

पछिल्लो समयमा प्रचण्डको प्रतिवेदनलाई लिएर अर्को विवाद सुरु भएको छ । प्रचण्डले ओली भ्रष्टाचारमा लागेको, देश र जनतालाई धोखा दिएको, एकताको भावनाको सम्वोधन गर्न नसकेको जस्ता विषय समेटेर १९ पेजको प्रतिवेदन बुझाएका छन् । ओलीले यसलाई प्रतिवेदन नभई आरोपपत्र भनेका छन् । ओलीले प्रचण्डको जवाफ ३८ पेज लामो दिएका छन् । दुई जनाबीच मतभेद भएपछि अबको यात्रा के होला भन्नेमा समेत शंका छ । सचिवालयको बैठकमा यी दुवै प्रतिवेदनमाथि बुँदागत छलफल गरिनुपर्ने पार्टीको माग छ तर ओलीले प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन माग गरिरहेका छन् । प्रचण्ड आफ्नो प्रतिवेदन सही भएकाले फिर्ता लिने पक्षमा छैनन्, यो पनि विवादको मुख्य जड हो ।

ओलीले सरकार चलाएको ३३ महिना बितिसकेको छ । उनले भने अनुसार सरकारले काम गर्न नसक्दा मानिसले नेकपालाई किन मतदान गरिएछ भनेर पछुताउनुपरेको छ । सरकार भने आफ्नो कार्यकाल पाँच वर्ष भएकाले अन्तिममा मात्र परिणाम देखिने भनेर जनतामाथि भ्रमको खेती गर्न लागेको छ ।