Thursday, 21, January, 2021

रामचन्द्र प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले माफी माग्नुपर्छ – पूर्वमन्त्री खड्का

काठमाडौ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काले रामचन्द्र पौडेल पक्राउको घटनालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीले माफी माग्नुपर्ने बताएका छन् ।

उनले सरकारले पाएको मतको सम्मान गर्न नसकेको पनि बताए । सरकारका गतिविधि नसच्चिने हो भने हावाहुण्डरी ल्याएर सरकार ढालिदिने चेतावनी समेत उनले दिए । सरकारको दम्भलाई कुनै पनि नागरिकले नसहने पनि उनको भनाई छ । रिपोर्टर्स क्लवद्धारा आज आयोजित साक्षात्कारमा नेता खड्काले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गर्नु अराजकताको नमुना भएको दाबी गरे । तनहुँको व्यास नगरपालिकामा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले हिजो पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेको भन्दै प्रहरीले पक्राउ गरिएको जनाएको छ । तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले पुल उद्घाटन गर्ने थाहा पाएपछि त्यसलाई रोक्न निषेधाज्ञा लगाइएको जनाएका छन् ।

‘सरकार लोकतान्त्रिक भावनाको मर्मविपरीत गएको छ, यस्ता अराजक गतिविधिलाई कांग्रेसले सहँदैन’ उनले भने ‘ सरकारले लोकतन्त्रमाथि नै गम्भीर प्रश्न उठाएको छ ।’

नेता खड्काले कांग्रेसको धैर्यता र इमान्दारितालाई कमजोर नठान्न पनि सरकारलाई आग्रह गरेका छन् ।