Wednesday, 20, January, 2021

प्रचण्डको प्रतिवेदन फिर्ता लिनुपर्छ भन्नु हेपाहा प्रवृत्ति हो–  प्रमोद पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता प्रमोद पौडेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा प्रस्तुत गरेको प्रतिवेदन फिर्ता लिनुपर्छ भन्नु हेपाहा प्रवृत्ति भएको बताएका छन् ।

नेकपाको सचिवालय बैठक भोलि बस्दैछ । बैठक बस्ने पूर्व सन्ध्यामा आज उनले फेसबुकमा ६ बुँदे स्टाटस लेख्दै दुवै अध्यक्षको प्रतिवेदनमाथि गम्भीर रुपले छलफल गरिनुपर्नेमा जोड दिए । उनले पार्टी एकतालाई बलियो बनाउने आधार प्रतिवेदन नै हुन सक्ने पनि दावी गरेका छन् । उनले एकताको भावनाको रक्षा गर्न सबैले जिम्मेवार भएर निर्णय गर्नुपर्ने बेला आएको बताएका छन् । उनले पार्टी एकता चानचुने विषय नभएको, बेमौसमी नभएको र पदीय भागवण्डालाई मात्र आधार मानेर गरिएको नभएको हुनाले एकताको भावनाबाट विचलित नहुन सबैलाई अनुरोध पनि गरेका छन् ।

उनले शहीद तथा वेपत्ता योद्धाहरुको त्याग, तपस्या र योगदानलाई सम्झन पनि स्पष्ट रुपमा उल्लेख गरेका छन् । शहीद परिवारका युवा नेता पौडेलले शहीद तथा बेपत्ता योद्धाहरुको धैर्यता, इमान्दारिता र प्रतिबद्धतालाई ख्याल गर्न पनि नेतृत्वलाई आग्रह गरेका छन् ।