Saturday, 23, January, 2021

सरकार नै भ्रष्टाचारीको प्रमुख संरक्षक बनेको छ– पूर्व सांसद खतिवडा

काठमाडौं । राष्ट्रियसभाकी पूर्व सांसद तथा नेपाली कांग्रेसको नेपाल महिला संघकी महासचिव धना खतिवडाले ट्रान्सपरेन्सी ईन्टरनेशनले निकालेको प्रतिवेदन सरकारले नमान्नु प्रजातन्त्रमाथिकै च्यालेन्ज भएको आरोप लगाएकी छिन् ।

ट्रान्सपरेन्सीले नेपाल भ्रष्टाचार गर्नेको सूचीमा अग्र स्थानमा रहेको प्रतिवेदन भर्खरै सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सीको प्रतिवेदन सरकारले अस्वीकार गर्ने बताइसकेका छन् । उनले प्रतिवेदन राजनीतिक पूर्वाग्राह राखेर आएको समेत दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले त्यो प्रतिवेदन मान्दिन भन्न नपाउने भन्दै सरकारलाई स्वकीर्न भनेको छ । नेतृ खतिवडाले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारीको संरक्षक रहेको बताइन् । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा ७० करोड घुस प्रकरणमा मुछिएका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको संरक्षण गर्दै प्रधानमन्त्री ओलीले अरु सबै मन्त्री एकातिर बाँस्कोटा एकातिर भनेर काभ्रेमै पुगेर दिएको अभिव्यक्तिको समेत उनले खण्डन गरेकी छिन् ।

उनले महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला पनि महिलामाथि विभेद र बलात्कार बढेको भन्दै सरकारलाई बलात्कारी र दोषीलाई कारवाही गर्न माग गरेकी छिन् । ‘सरकारले कडा कानुन बनाएर बलात्कारी र दोषीलाई कारवाही गर्नुपर्छ, राजनीतिक स्वार्थका नाममा दिइने छुटले दण्डहीनता झन् मौलाएको छ’ उनले भनिन् ‘ कारवाही गर्न सरकारले चासो नदेखाउँदा अपराधीलाई झन् हौसला मिलेको छ, जुनसुकै पार्टी र गुटको मान्छे अपराधी भए पनि कारवाहीको दायरामा ल्याउनुपर्छ ।’ उनका अनुसार पछिल्लो सात वर्षमा १४ हजार महिला बलात्कृत भएका छन्, जसमध्ये बालिकाको संख्या ६ हजार ७ सय ७२ रहेको छ । २८ महिनाअघि कञ्चनपुरकी १४ वर्षिया बालिका निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको उनको आरोप छ । ‘मैले संसदमा गृहमन्त्रीको राजीनामा पनि मागेको थिएँ तर कुनै सुनुवाई भएन, सधैं सरकारले अल्मल्याउने काम मात्र गरेको छ’ उनले भनिन् ‘ त्यसपछि बालिका बलात्कारका घटना बढ्दै गए, कारवाही नभएपछि अपराधीमा झन् मनोबल बढेर आयो, जसको पछिल्लो उदाहरण धेरै छन् जुन भनेर साध्य छैन ।’

केही समयअघि बझाङकी बालिका सम्झना कामीको पनि बलात्कारपछि हत्या भएको छ । उनले राष्ट्रको प्रमुख पदमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले समेत यसबारेमा केही नबोलेकोमा उनलाई दुःख लागेको छ । राष्ट्रपति देशकै सम्मानित भए पनि पार्टीको पछि लागेको र महिलाको विषयमा ‘चुँ’ समेत नबोलेको भन्दै उनले आपत्ति जनाएकी छिन् ।

कम्युनिष्ट सरकार होइन, कमाउनिष्ट सरकार हो

उनले वर्तमान सरकार कम्युनिष्टको भनिए पनि वास्तवमा त्यसो नभएकी बताएकी छिन् । उनले सरकार ‘कमाउनिष्ट’ भएको र जताततै कमाउने काममा मात्र लागेको समेत बताइन् ।

‘यो सरकारलाई झण्डै दुई तिहाई मत छ त्यसको सम्मान गर्न त सकेन नै, उनीहरुले कम्युनिष्टकै बेइज्जत गरे’ नेतृ खतिवडाले भनिन् ‘ कम्युनिष्टका नेता भन्नेहरुको महल छ, उनीहरुको जीवन सर्वसाधारणको भन्दा धेरै फरक छ त्यसैले कम्युनिष्ट भन्न सुहाउँदैन ।’ उनले कम्युनिष्टले जनताको दुःख बुझ्नुपर्ने भए पनि सुख सयलमा लागेको समेत आरोप लगाइन् । माओवादीले आन्दोलनका नाममा धेरैको घरवार बिगारेको र धेरैलाई शहिद तथा टुहुरा र अंगभंग बनाए पनि उनीहरुको भावनालाई सम्वोधन नगरेकामा उनलाई चिन्ता छ ।

कांग्रेसको भूमिका पनि कमजोर

उनले प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेसको भूमिका पनि कमजोर भएको उनको आरोप छ । सरकार कमजोर भएका बेला कांग्रेसले खेल्नुपर्ने भूमिका खेल्न नसकेको उनको बुझाई छ ।

तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसले माग गर्नुपर्ने भन्दै उनले सांसदहरुले सदनबाट र संसद बाहिर भएकाले सडकबाट आवाज उठाउनुपर्ने बताइन् । ‘हामी सडकमा गएर सरकारका गलत गतिविधिको भण्डाफोर गर्छौं, कोरोनाको त्रास छ तर पनि डर छैन, स्वास्थ्य सचेतता अपनाउँछौं’ उनले भनिन् ‘ कोरोनाले नै लान्छ भने पनि लगोस् डर छैन तर सरकारलाई जसरी भए पनि सच्याउनु छ ।’ कांग्रेसले समयमा नै महाधिवेशन गर्नेतर्फ चासो नदेखाएको भन्दै उनले आफू कमजोर भएका बेला अरुको विरोधमा बोल्न पनि नसकिने बताइन् । समयमा महाधिवेशन गरेर कांग्रेस झन् जुझारु र उर्जावान हुने उनको भनाई छ । मंसिरभित्रमा क्रियाशील सदस्यता वितरण सक्न र छिटोभन्दा छिटो केन्द्रमा नाम पठाएर महाधिवेशनको तयारीमा लाग्न उनले नेतृत्वलाई सुझाव दिएकी छिन् ।

गगन र विश्व आदर्श पुरुष भनेर मात्र भएन

उनले गगन कुमार थापा र प्रवक्ता विश्वप्रकाश शर्मा कांग्रेसका आदर्श पात्र भनेर मात्र नहुने बताएकी छिन् ।

सामाजिक सञ्जालमा आउने यस्ता प्रतिक्रियाबारे उनले भनिन् ‘दुइजना युवा नेतालाई सबैले पत्याउनु ठिकै हो तर उनीहरुले पनि पार्टीलाई जीवन्त र आधुनिक बनाउनेतर्फ पहल गरेनन् । उनले पार्टी नेतृत्वलाई महाधिवेशन गर्नका लागि दवाव दिनुपर्नेमा जोड दिइन् । उनले गगनले पनि अरु युवाहरुलाई समेटेर नयाँ योजना बनाएर जानुपर्नेमा जोड दिइन् । केन्द्रीय सदस्य प्रदीप पौडेल, गुरुराज घिमिरे, धनराज गुरुङलगायतका नेताप्रति पनि जनताको विश्वास भएकाले एकमत भएर अघि बढ्नुपर्ने उनले बताइन् । कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा देखिएको आन्तरिक विवादले पार्टीलाई कमजोर बनाएको उनको बुझाई छ । कांग्रेस कमजोर हुँदा देश नै कमजोर हुने भन्दै उनले नेपाली कांग्रेसले देशलाई हरेक असहज अवस्थाबाट बचाएर यहाँसम्म ल्याएको स्पष्ट पारिन् ।

कोरोनाको परीक्षण नबढाउनु दुःखद्

उनले सरकारले कोरोना परीक्षणको दर नबढाएकामा आपत्ति जनाएकी छिन् । उनले सबै नागरिकको कोरोना परीक्षण निःशुल्क गर्न पनि सरकारसँग माग गरेकी छिन् । कोरोनाको महामारीमा पनि सरकार भ्रष्टाचारमा लागेकाले सरकारको नियत खराव भएको प्रष्ट बुझ्न सकिने उनको ठम्याई छ । कोरोनाको उपचारका लागि सरकारले बजेट बढाउनुपर्ने र विदेशबाट आएको सहयोगलाई सही ढंगले सदुपयोग गर्नुपर्ने उनको सुझाव छ ।

पाँच कक्षा पढ्दादेखि नै राजनीतिमा सक्रिय भएको बताउने उनी राजनीतिकै लागि जीवन समर्पण गरिसकेको बताउँछिन् । बुबा कृष्णलाल पनि राजनीतिमा भएकाले पनि उनलाई राजनीतिमा लाग्न सजिलो भएको हो । उनले आन्दोलन र संघर्षका नाममा धेरै दुःख समेत पाएकी छिन् । उनले अबको जीवन समाजसेवा र राजनीतिमा लगाउने दाबी समेत गरेकी छिन् ।