Tuesday, 20, April, 2021

नेताहरु असक्षम भएको भन्दै सार्वजनिक ठाउँबाटै चुनौती दिँदै समाजसेवी ताराबहादुर कुँवर

काठमाडौं । निर्वाचन जितेपछि गाउँ नफर्किनेलाई मतदान नगर्न समाजसेवी ताराबहादुर कुँवरले स्थानीयलाई आग्रह गरेका छन् । उनले काठमाडौं गएका नेताले गाउँलाई भुल्ने गरेकाले पनि गाउँँको विकास हुन सम्भव नभएको बताए ।

काठमाडौं वाफलका समाजसेवी ताराबहादुर कुँवरले आफ्नो जन्मथलो काभ्रेको भुम्लु गाउँपालिका पुगेर ३ सय ५० परिवारलाई अत्यावश्यक सामग्री वितरण गरेका छन् । आइतबार चौवासमा पुगेका उनले गाउँलेलाई श्रीलंकामा बनेको हेमा ब्राण्डको क्रिम, तेल, साबुनलगायतका सामग्री वितरण गरे । गाउँलेको जीवनमा आइपरेका समस्यालाई बुझेर आफू गाउँ पुगेको उनको भनाई छ । उनले दिनहुँ काम गरेर खुट्टा फुटेका, ओठ फुटेका मानिसका साथै बच्चाका लागि क्रिम र तेल वितरण गरे । त्यस्तै उनले सुत्केरीका लागि पनि आवश्यक सामग्री उपलव्ध गराए । हजुरलाई नमस्ते परोपकारी अभियानद्धारा आयोजित कार्यक्रममा प्रदेशसभाका नेकपा सांसद लक्ष्मण लम्साल प्रमुख अतिथि रहेका थिए । कुँवर नै अभियानका अध्यक्ष हुन् । हेमा ब्राण्डको नेपालको प्रमुख विक्रेता रहेका कुँवरले वितरण गरेको सामानको क्रय मूल्य ३ लाख ७५ हजार रुपैंया रहेको छ ।

कुँवरले निर्वाचन जितेर गएका नेताहरु काठमाडौं केन्द्रित भएकामा दुःखेसो गरे । ‘नेताहरु चुनाव जितेर जान्छन् फेरि गाउँ फकर्दैनन् र गाउँलाई वेवास्ता गर्छन्, यो दुःखद पाटो हो’ कुँवरले भने ‘अब जनताले मतदान गर्दा को हाम्रो लागि चाहिने र को नचाहिने हो भनेर छुट्याएर मतदान गर्न आग्रह गरें ।’ निर्वाचन हुँदा महान पर्व आएजस्तो गर्ने तर त्यसपछि जनताको मतलव नगर्ने नेताहरुप्रति पनि उनले व्यङ्ग्य गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठका साथै विभिन्न राजनीतिक दलका नेताको सहभागिता रहेको थियो ।

कुँवरले वर्तमान सरकारबाट जनताले केही आशा गरेको भए पनि सरकारले जनताको चाहना पूरा गर्न नसक्ने ठोकुवा गरेका छन् । उनले सरकारको अहंकार र घमण्डले गर्दा जनतामा निराशा छाएको पनि बताए । कुँवरले भनें आफ्नै गाउँ सम्झेर विभिन्न विकास निर्माणमा पनि सहयोग गरेका छन् । उनले आफ्नै पहलमा बाटो पनि बनाइदिएका छन् । उनले भूकम्पका बेला पनि राहत वितरण गर्दै आफूलाई समाजसेवीको रुपमा स्थापित गरेका थिए ।

कुँवरले कोरोना भाइरसका कारण भएको लकडाउनदेखि नै वाफलमा राहत वितरण गर्दै आएका छन् । उनले यो अभियानलाई झन् सशक्त बनाउँदै लगेका छन् । चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरले १ सय ७० जना दृष्टिविहीनलाई राहत स्वरुप चामल, दाल, चिनी, तेललगायतका सामग्री बाँडेका छन् । उनले अहिलेसम्म २७ औं चरणमा पुग्दा १७ सय २० जनालाई राहत बाँडेका छन् ।

फेसबुकमा राहत वितरणको तस्विर हालेपछि कहिलेकाँही आलोचना समेत सहेका उनले अरुलाई पनि यस्तै काम गर्न र फेसबुकभरी तस्विर हाल्नसमेत आग्रह गरेका छन् । उनी नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष उनी हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक हुन् । कुँवरको सक्रियताले अरुलाई पनि राहत वितरणमा उत्साहित पनि बनाएको छ । उनले केही दिनअघि २६ औं चरणको राहत वितरण गरेका छन् । लकडाउनमा उपत्यकामा रगतको अभाव हुन थालेपछि उनकै सक्रियतामा विभिन्न संघसंस्थाको सहयोगमा पाँच पटक रक्तदानको आयोजना पनि गरे, जसमा १ सय ६३ पाउण्ड रगत संकलन भएको थियो । अहिलेको कार्यक्रम हजुरलाई नमस्ते फाउण्डेसनले आयोजना गरेको हो, कुँवर नै फाउण्डेसनको अध्यक्ष हुन् ।

‘अरु धेरै मानिस कोरोनाको डरले घरमै बसे तर मैले भनें सबैलाई सकेको सहयोग गरें, सेवा गर्न पाएकामा आत्मसन्तुष्टि मिलेको छ’ उनले भने ‘मैले लकडाउन र नाकाबन्दीमा घर भाडामा पनि छुट दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ।’