Tuesday, 20, April, 2021

जनमतको कदर गर्न पनि नेकपामा विभाजन आउनु हुँदैन – सांसद् तामाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रतिनिधिसभाकी सांसद् तथा पार्टीकी केन्द्रीय सदस्य शान्तिमाया तामाङले नेकपा फुट्नु भनेको देशकै लागि घाटा भएको बताएकी छिन् ।

समसामयिक राजनीति र पार्टीमा देखिएको विवादबारे कुरा गर्दै उनले पार्टी एकतालाई जोगाउनु अहिलेको आवश्यकता भएकोमा जोड दिइन् । ‘जनताले हामीलाई अहिले धेरै विश्वास दिएका छन्, त्यो मतको कदर गरेर देखाउनुपर्छ’ उनले भनिन् ‘ठूलो पार्टी भएपछि केही सामान्य मतभेद हुन सक्छ, यसलाई स्वभाविक मान्नुपर्छ तर पार्टी एकता नै भाँड्ने काम गर्न कसैलाई छुट छैन ।’ उनले पार्टीका केही शिर्ष नेताको बोली र व्यवहारका कारण जनताले आलोचना गरेको पनि स्पष्ट पारिन् ।

‘हामीले पाएको यो मौका गुमाउनु हुँदैन, यो बेला जनताका पक्षमा काम गरेर देखाउनुपर्छ’ उनले भनिन् ‘ पार्टीमा विवाद हुँदै गएपछि जनतामा नराम्रो छाप परेको छ, सकेसम्म एकतालाई बलियो बनाएर जानुपर्छ भनेर सबै लागेका छौं ।’ उनले आफूहरु पनि पटकपटक विभिन्न छलफलमा बसेको समेत जनाएकी छिन् । जनताले सरकारलाई पाँच वर्षको जनमत दिएको हुनाले निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा गर्न सरकारले कदम चाल्नुपर्नेमा पनि उनले जोड दिइन् ।