Monday, 25, January, 2021

मध्यावधी निर्वाचनमा जानु नै सही विकल्प– पूर्वमन्त्री बलायर

डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर अहिलेको अवस्थामा नेपाली कांग्रेस सरकारमा नजाने बताएका छन् ।
नेपाल प्रेस युनियन डोटीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य बलायरले अहिले नेकपाको जुटाइ वा फुटाइसँग कांग्रेसको कुनै संलग्नता नरहेको बताउँदै कसैले निम्तो पठाउँदैमा कांग्रेस सरकारमा सहभागी नहुने बताए ।

‘दुईतिहाई बहुमत हुँदाहुँदै कांग्रेसलाई सत्ता समीकरणका लागि पठाएको लज्जतापूर्ण निम्तो आउनु राजनीतिक अस्थिरताको संकेत हो,’ बलायरले भने, ‘यस्तो निम्तो कांग्रेसले स्वीकार गर्नु पर्छ भन्ने जरुरी छैन ।’ उनले आफ्नो घरबाटै सहयोग जुटाउन नसक्नेले कांग्रेससँग सत्ता समीकरणको आश गर्नु हास्यास्पद् भएको वताए ।
बलायरले देशको वर्तमान अस्तव्यस्ततालाई ध्यानमा राख्दै नेपाली कांग्रेसले बरु मध्यावधि निर्वाचनको माग गर्ने बताए ।

उनले राजनीतिक अस्थिरता भन्दा मध्यावधी निर्वाचन नै उपयुक्त हुने दाबी गरे । पूर्वमन्त्री बलायरले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरे । ‘कम्युनिष्टहरुको शासनका कारण देश संकटको अवस्थामा पुगेको छ,’ उनले भने, ‘नेकपाको आन्तरिक लडाईका कारण जनताको जीवनमाथि खेलवाड भइरहेको छ ।’ सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी प्रयास गर्न नसकेको, जनताका लागि राहतका प्याकेजहरु ल्याउन नसकेको र संविधानको कार्यान्वयन गर्न नसकेको बलायरले आरोप  लगाए ।

‘नेकपाले निर्वाचनमा जनताको मन जितेर दुई तिहाई मत त पायो तर जनभावना अनुसार काम गर्न सकेन’ बलायरले भने, ‘बरु राज्यको आडमा भ्रष्टाचार बढेको छ ।’ उनले जनताले रोजगारी गुमाउनु परेको र पर्यटन क्षेत्र चुर्लुम्मै डुवेको समेत वताए ।

अहिले देशका विभिन्न स्थानमा राजतन्त्रको समर्थनमा प्रदर्शन भइरहेको प्रसंगमा कांग्रेस केन्द्रीय सदस्य बलायरले अव राजतन्त्र कल्पनाभन्दा बाहिरको कुरा भएको वताएका छन् । ‘राजतन्त्रको विषय गैर–संवैधानिक, गैर– राजनीतिक र गैर–वैचारिक हो’ उनले भने, ‘नेपाली कांग्रेस अब कुनै पनि हालतमा राजतन्त्रको मुद्दामा समर्थन जनाउन सक्दैन ।’