Saturday, 28, November, 2020

कांग्रेस बलियो बनाउनुपर्नेमा प्रजातान्त्रिक महासंघको जोड

काठमाडौं, नेपाल प्रजातान्त्रिक महासंघका केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद शर्माले कांग्रेस एकढिक्का भएर हिँड्यो भने नेकपाका केन्द्रीय तहका नेताहरुसमेत कांग्रेस आवद्ध प्रजातान्त्रिक महासंघमा आउन तयार रहेको बताएका छन् ।
महासंघको केन्द्रीय समिति बैठकमा उनलेे विपीले कल्पना गरेको कांग्रेस तथा गणेशमानले त्याग गरेको कांग्रेस बनाउन नेपाल प्रजातान्त्रिक महासंघ निरन्तर रुपमा लागिपरेको उल्लेख गरे । सबैले सहयोग गरे त्यो दिन छिट्टै नजिक रहेको अध्यक्ष शर्माले बताए । महासंघका महासचिव भक्तराज भुसालले अगामी चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने अठोटका साथ सम्पूर्ण कार्यसमितिका पदाधिकारी लगायत केन्द्रीय सदस्यहरु, प्रदेश संयोजकहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई सक्रिय भएर लाग्न अनुरोध गरे ।
त्यस्तै केन्द्रीय सदस्य एवम युवा तथा खेलकुद विभागका संयोजक रामचन्द्र तिवारीले ३५ वटा जिल्लामा संगठन विस्तार गरिसकेको बाँकी जिल्लाहरु मंसीरभित्रै विस्तार गरिने जानकारी दिए । तिवारीले युवा तथा खेलकुद संगठनमा ३५ वर्षभित्र युवाहरु समावेश गरी संगठनलाई तथा बलियो बनाउने बताए ।
सुदुरपश्चिमका संयोजक पुर्व प्रहरी उपरीक्षक गोविन्द राम परियारले आफ्नो पार्टीले गरेका गल्तीलाई सुधार्न महासंघ सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । त्यस्तै केन्द्रीय सदस्य एवम गण्डकी प्रदेशका संयोजक पुर्व वरिष्ठ प्रहरी उपरीक्षक भरत शर्माले नेपाली कांग्रेसभित्र भएका आन्तरिक विवादका कारण पार्टी अगाडि बढन् नसकेको प्रति दुख व्यक्त गरे । बैठकमा सहकारीबिद् ज्ञानेन्द्र प्रसाद पौडेल, केन्द्रीय सदस्य डिल्ली प्रसाद शर्मा आचार्य, अर्थविद डिलाराम सुवेदी, केन्द्रीय सदस्य एकनारायण उपाध्याय, बागमती प्रदेशका कोषाध्यक्ष भवानी देवकोटा, केन्द्रीय सदस्य पवित्रा शर्मा, बसन्ती भण्डारी, केन्द्रीय सदस्य लेखबहादुर राई, मकवानपुरका संयोजक कृष्ण प्रसाल अर्याल, काठमाडौं संयोजक अनमोल श्रेष्ठ, केन्द्रीय सदस्य पदम नाथ सापकोटा र लाल प्रसाद अर्याल, नेत्रनाथ पौडेल, बुद्धिमान गौडेल , सञ्चय कोषका पुर्व डिजिएम केन्द्रीय सदस्य केदार नाथ गौतम, केन्द्रीय सदस्य लेख बहादुर राई, अमर प्रकाश तिवारी लगायतका सहभागिहरुले कांग्रेसलाई बलियो बनाउन आ–आफना स्थानबाट लाग्नुपर्ने धारणा राखे ।
त्यस्तै विधान मस्यौदा समितिका संयोजक तथा केन्द्रीय कार्य सम्पादन समिति सदस्य रामहरि न्यौपानेले सातवटै प्रदेश र ७७ वटै जिल्लामा कानुनी आवश्यकता र कानुनी अफ्ठ्यारा सजिला कुराहरु प्रष्ट पार्दै विभिन्न क्षेत्रमा रहनु हुने जस्तै कानुनविद, अर्थविद्, प्रहरी प्रशासक, शिक्षाविद्हरु एवम नेपाली कांग्रेसलाई माया गर्ने तर अलगिएका व्यक्तिहरुलाई समिटने तमाम कानुन शासन, आर्थिक समावेशी समग्र रुपमा समेट्दै आएको कुरा जानकारी गराए ।
केन्द्रीय समितिको बैठकले नेपाल प्रजान्त्रिक महासंघको केन्द्रीय सदस्यमा पुर्व डिआईजी पुर्णचन्द्र जोशी र गणेश केशीलाई मनोनय गर्ने निर्णय गरेको हो । बैठकले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा प्रजातान्त्रिक पक्षधारलाई सहयोग गर्न केन्द्रीय अध्यक्षको गोविन्द प्रसाद शर्माको संयोजनमा उच्चस्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । गठित समिति संयोजकमा अध्यक्ष गोविन्द प्रसाद शर्मा, सदस्यमा महासचिब भक्तराज भुसाल, सदस्यमा कोषाध्यक्ष योगेश्वर पोखरेल, सदस्यमा गण्डकी प्रदेश संयोजक भरतराम शर्मा, त्यस्तै नेपाल प्रजातान्त्रिक सुचना प्रविधिका संयोजक रोजी ढकाल पराजुली एवम युवा तथा खेलकुद संयोजक रामचन्द्र तिवारी एवम गोविन्दराम परियार समेत सदस्यमा रहेका छन् ।
कार्यक्रममा सहभागी प्रजातान्त्रिक महासंघका केन्द्रीय सदस्य एवम सुचना विभागका प्रमुख रोजी ढकाल पराजुलीले कुम्भकर्ण निद्रामा सुतिरहेको नेपाली कांग्रेस तत्काल नेपाली जनताका लागि जाग्नु जरुरी रहेको बताइन् । पराजुलीले आफु कोरोनाकालमा पनि कांग्रेसलाई बलियो बनाउने उद्येश्यका साथै सातै प्रदेश गएका बेला नेपालीहरुको पीडाले मन छटपटिएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षणका लागि अनुरोध समेत गरिन् ।