Saturday, 28, November, 2020

प्रलोभनमा पारेर भारत लाँदै गरिएका १२ युवतीको उद्धार

पर्सा, विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार भएको छ ।

कोराना महामारीको विषम स्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लाँदै गरिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो । हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन् ।

सिराहा र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनी विभिन्न जिल्लाबाट पर्साको वैकल्पिक नाका हुँदै भारतसम्म पुर्‍याइएका ती युवतीको उद्धार गरिएको बताइएको छ । ती युवतीलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक रु २ हजारका दरले रकम दिने भनी काठमाडौँको बालाजुबाट लगिएको थियो ।

पथलैयाको जङ्गलमा पुगेपछि उनीहरुलाई समूह विभाजन गरी नेपाल भारत सिमानामा पु¥याइएको थियो । सीमा कटाउने क्रममा चार जनालाई सीमा नाकाबाट र अन्य सात जनालाई भारतबाट उद्धार गरिएको हो । ती युवतीसँगै रहेका युवक पक्राउ परेका छन्।