Thursday, 03, December, 2020

एक अथक योद्धा : सांसद पुन

ललितपुर, जबदेखि कोरोना महामारीको कहरले नेपाललाई छोप्यो तबदेखि नै एक सांसद नागरिकको सेवामा निरन्तर खटिरहेकी छिन् । मानौं उनी एक अथक योद्धा हुन् । उनी आफूलाई कुनै थकान महसुश भएपनि जनताको आहातमा राहत दिँदा आफूलाई लागेको थकान पनि भुलिदिन्छिन् । कोरोना महामारीमा मात्र होइन्, त्यसअघि २०७२ सालको महाभुकम्पका बेला पनि तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट उनी जनताको पक्षमा सक्रिय रुपमा भूकम्पीडितको राहात तथा पुर्नस्थापनामा लागेकी थिईन् । समाजसेवामा अहोरात्र खटिएको कारण पनि २०७४ साल मंसिरमा भएको निर्वाचनमा उनले सजिलै प्रदेशसभाको निर्वाचन जितिन् ।

उनी हुन् , ललितपुर प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद लाल कुमारी पुन ‘सुशिला’ । उनी आफुलाई सांसदभन्दा पनि जनताको सेवक ठान्छिन् । नेकपाको तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएपनि उनी पार्टीगत रुपमा भन्दा पनि सबै नागरिकलाई समान व्यवहार गर्दै आएकी छिन् ।

‘म त जनताको सेवक हुँ, कसैलाई पनि असहज अवस्था नआओस् भन्ने चाहन्छु’ उनी भन्छिन् ‘दिनरात जनताको सेवामा काम गर्न पाउदा आनन्द लाग्छ ।’ उनले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट विभिन्न कार्यक्रमका लागि आवश्यकता अनुसार बजेट विनियोजन गर्दै आएकी छिन् । सादा जीवन उच्च विचारकी पुन आफ्नो क्षेत्रमा रहेका नागरिकहरुलाई जुनसुकै समस्या हल गर्न तत्पर छिन् । जनताको घरघर पुगेर खेतीपातीको काममा समेत उनले साथ दिन्छिन् ।

‘म त जनताको सेवक हुँ, कसैलाई पनि असहज अवस्था नआओस् भन्ने चाहन्छु’ उनी भन्छिन् ‘दिनरात जनताको सेवामा काम गर्न पाउदा आनन्द लाग्छ ।’

प्रदेश सांसद पुनले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि विभिन्न ९ वटा योजना छनौट गरी रकम विनियोजन समेत गरेकी हुन् । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि तीन करोड रुपैयाको योजना छनौट गर्न पाउने प्रावधानअनुसार सांसद पुनले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाको विभिन्न वडामा योजना छनौट गरेकी हुन् ।

अहिले त्यही योजना अनुसार विकास निर्माणको काम भईरहेको छ । उनी सो ठाउँमा पुगेर अनुगमन तथा निरीक्षण गरिरहेकी छन् । अरु सांसदभन्दा भिन्न सोच भएकी पुन बजेट विनियोजन गरेर ढुक्कले बसेकी छैनन् । निरन्तर रुपमा आफ्ना योजनाहरुमा भईरहेको प्रगति विवरण लिने मात्र होईन काम नगर्नेहरुलाई तत्काल काम सुचारु गर्न दवाव दिनसमेत पछि हट्दिनन् ।

‘विकास निर्माण के कति भयो भन्ने कुरा बुझ्न बेलाबेला छड्के अनुगमनमा जान्छु र काम नभएको पाएमा बाटोमै पनि निर्माणको जिम्मा लिनेलाई तत्काल काम गर्न निर्देशन दिन्छु ’ उनी भन्छिन् ‘ हाम्रो सरकार छ, जनताले धेरै अपेक्षा गरेका छन्, आफ्नो तफर्बाट सक्दो गरेकी छु, मैले भन्नुभन्दा पनि जनताले त्यो कुरा बुझेका छन् ।’

कोरोना भाइरसको महामारीसँगै नेपाली समाजमा छ्यापछ्याप्ती समाजसेवीहरु पैदा भए । यसअघि २०७२ सालमा भूकम्प गएका बेला पनि धेरै मानिसहरु समाजसेवी भए । अहिले घरघरमा समाजसेवी जन्मिएका छन् । उनी भन्छिन् ‘ विभिन्न आवरणमा सामाजिक सेवामा लागेको छु भनेर देखाउनेको भीँड बढेकोे बढ्यै छ, समाजसेवालाई सस्तो विषयबस्तु बनाइँदै गएको देख्दा दिक्क लाग्छ ।’ समाजसेवालाई मजाकका रुपमा नलिन समाजसेवीका नाममा हिँड्नेहरुप्रति उनी कटाक्ष गर्छिन् । उनी देशको नेतृत्व गरेर बसेका नेताहरुलाई पनि जनताप्रति जिम्मेवार हुन सुझाव दिन्छिन् । आफुलाई प्रमुख नेता भन्नेहरुले जनताको जनजीविकाको पक्षमा नबोलेकोमा उनलाई चिन्ता छ ।


रोल्पाको माडीचौरीमा २०३५ सालमा जन्मेकी उनी सानैदेखि माओवादी राजनीतिमा आवद्ध भइन् । परिवारबाछ नै राजनीति गर्ने वातावरण पाएकी उनी १३ वर्षको उमेरमा नै नेकपा ९एकता केन्द्र० सँग आवद्ध भइन् । स्नातकसम्म पढेकी उनी राजनीति र समाजसेवालाई सँगै लानुपर्ने बताउँछिन् । २०५० सालमा विद्यार्थी संगठनको जिल्ला कोषाध्यक्ष हुँदै २०५६ सालबाट पार्टीको पूर्णकालीन सदस्य भएर राजनीतिमा होमिएकी उनले जिल्लामा रहँदा पार्टीका विभिन्न प्रकाशनमा रहेर काम गरिन् । माओवादी युद्धमोर्चामा ज्यानै फ्यालेर लागेकी उनी माओवादीका कारण नै अहिलेको परिवर्तन सम्भव भएको दाबी गर्छिन् ।

२०६४ सालबाट ललितपुरलाई नै राजनीतिको कार्यथलो बनाएकी उनले माओवादीको जिल्ला कोषाध्यक्ष भएर समेत भूमिका निर्वाह गरिन् । पार्टीको महाधिवेशन आयोजक समितिकी सदस्यसमेत रहेकी उनले निर्वाचनताका आफ्नो प्रदेशमा गर्ने विकासका खाका पनि प्रस्तुत गरेकी थिइन् । उनले विशेष गरी ग्रामीण कृषि, पर्यटन, वातावरण र जनजीविकाको मुद्धालाई उठाएकी थिइन् । झण्डै तीन वर्षे कार्यकाल सक्दै गरेकी उनले जनताको पक्षमा सधैं न्याया गरेको दाबी गरेकी छिन् ।

‘अझै पनि धेरै काम गर्न बाँकी छ, मैले गरेका प्रतिबद्धता पूरा गरेरै छोड्छु’ उनी भन्छिन् ‘ विकास निर्माणका क्रममा कसैले पनि असहयोग गर्नु हुँदैन, जसले विकास गरे पनि जनताकै लागि हो भन्ने सकारात्मक सोच्नु जरुरी छ ।’