Saturday, 28, November, 2020

अमेरिकी राष्ट्रपतीय चुनाव : बाइडेन जित नजिक, अदालत जाने ट्रम्पको धम्की

एजेन्सी,अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी छ। हालसम्मको स्थितिमा डेमोक्रयाटिक उम्मेदवार जो बाइडेनले प्रतिद्वन्दी डोनाल्ड ट्रम्पभन्दा उलेख्य अग्रता लिएका छन्। बाइडेनले आफ्नो जित सुनिश्चित हुँदै गएको बताएका छन्। तर बाइडेनको सम्भावना बढ्दै गएको देखिएको अवस्थामा राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

यो समाचार तयार पार्दासम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको छ। यसबाट बाइडनले २४३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन्। जितका लागि निकै महत्त्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ।

बाइडेनले आफूले जिते ुसबै अमेरिकीको राष्ट्रपतिु हुने प्रतिबद्धता जनाएका छन्। चुनावी प्रचार अभियानका बेलामा पनि उनी त्यसो भन्ने गर्थे। उता राष्ट्रपति ट्रम्पले भने कुनै प्रमाण नदिई चुनावमा धाँधली भएको आरोप लगाएका छन् र सर्वोच्च अदालतमा कानुनी चुनौती दिने बताएका छन्।

तर बाइडनको चुनावी प्रचार समूहले राष्ट्रपतिको अभिव्यक्ति ुअपमानजनकु भएको भन्दै मतगणना नरोकिने जनाएको छ। ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन पेन्सल्भेनिया र जोर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ। अभियानका एक अधिकारी जस्टिन क्लार्कले डेमोक्र्याटहरूले रिपब्लिकनहरूको मतमा अनियमितता गरेको आरोप लगाए।

त्यसअघि ट्रम्पको अभियान समूहले विस्कन्सिनमा आफूहरूले पुनः मतगणना चाहेको जनाएको थियो। अन्तर्राष्ट्रिय पर्यवेक्षणहरूले चाहिँ चुनावमा धाँधली भएको नदेखिएको बताएका छन्।