Wednesday, 25, November, 2020

राउटे समुदायलाई भिक्षु वाङ्चुक राप्तेन लामाको सहयोग

बन्दाबन्दी (लकडाउन)का कारण खाद्यान्न संकटमा रहेका राउटे समुदायलाई भिक्षु वाङ्चुक राप्तेन लामाले एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका छन्। किमोलुङ फाउण्डेशनका अध्यक्षसमेत रहेका भिक्षु वाङ्चुक राप्तेनले राउटे समुदायको बस्तीमै पुगेर खाद्यान्न सहयोग गरेका हुन्। ‘कोरोना संक्रमणका कारण राउटे समुदायमा खाद्यान्न संकट उत्पन्न भएको जानकारी पाएपछि बस्तीमै आएर सहयोग गरेको हुँ,’ भिक्षु राप्तेनले भने, ‘लोपोन्मुख समुदाय साँच्चै संकटमा रहेछ।’

राउटे समुदायका ४६ घर छन्। प्रत्येक घरलाई फाउण्डेशनका तर्फबाट दुई–दुई बोरा चामल, दुई–दुई पोका नुन, खुर्सानी र पाँच वटा मादल हस्तान्तरण गरे। उनले परम्परागत काठका सामाग्री बिक्री गर्न नपाउँदा राउटे बस्तीमा खाद्यान्न संकट देखिएको बताए। ‘कोरोना संक्रमणका कारण अहिले सहयोगी दाताहरु पनि बस्तीमा आउन सक्नु भएको रहेनछ,’ उनले भने, ‘दशैंको मुखमा खाद्यान्न ल्याएर आउँदा राउटे समुदाय धेरै खुशी भयो।’

 

छ वर्षअघि पहिलो पटक राउटे समुदायलाई सहयोग गरेका राप्तेनले आगामी दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिने बताए। उनले राउटे समुदाय मदिराको कुलतमा फसेको पाइएको बताए। ‘दाताले दिएको खाद्यान्न बिक्री गरेर राउटे समुदायले मदिरा सेवन गर्ने गरेको पाइयो,’ उनले भने, ‘यसलाई समयमै नियन्त्रण गर्न नसकेमा सिंगो समुदायनै नरहने संभावना हुन्छ।’

राउटे समुदायलाई सहयोग गर्न भिक्षु बाङ्चुकसहित कोषाध्यक्ष भिक्षु साम्डुप लामा, चुम हिमालयन इन्टरनेशनल आर्ट एण्ड ह्याण्डीक्राफ्टका अध्यक्ष हेवाङ निटुप लामा, भिक्षु घेसे नावाङ साङ्गे, भूषण महर्जनलगायत बस्तीमा पुगेका थिए।