Wednesday, 25, November, 2020

बेलायतमा कोरोनाका कारण लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दे प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं । बेलायतमा कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने माग सहित भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

बेलायतको ट्राफल्गर स्क्वायरमा भेला भएका प्रदर्शनकारीहरुले प्रहरी माथि पानीको बोतल प्रहार गरेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि लाठी चार्ज गरेको छ ।

सोही क्रममा तीन प्रदर्शनकारी र ९ जना प्रहरी घाइते भएका छन् । भौतिक दूरी समेत कायम नगरी गरिएको प्रदर्शनका हजारौं सहभागी थिए ।

कोरोना नियन्त्रणका लागि बेलायत सरकारले ६ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने, भित्री र बाहिरी शहरहरुमा भेला र सभा गर्न रोक लगाएको थियो ।

त्यसैगरी शहरका मुख्य मुख्य क्षेत्रका जीम हल र सिनेमा हलमा समेत रोक लगाएको थियो ।

प्रदर्शनकारीहरुलाई मास्क लगाउन र भौतिक दूरी कायम गर्न आग्रह गरिरहेका प्रहरीमाथि  प्रदर्शनकारीहरुले  दुव्र्यवहार गरेका छन् । प्रशासनले प्रदर्शन चर्कदैं गए थप दमन गर्ने चेतावनी दिएको छ ।

बेलायतमा कोरोनाका कारण हालसम्म ४१ हजार ९ सय बढीको मृत्यु भइसकेको छ भने ४ लाख २९ हजार २ सय बढी संक्रमित छन् ।

जहाँ दैनिक हजार बढी संक्रमित पुष्टी हुने गरेको छ ।