Friday, 27, November, 2020

राष्ट्रपति भण्डारी र पाकिस्तानी राजदुतबीच शिष्टाचार भेट

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसंग नेपालका लागि पाकिस्तानका राजदुत मजहर जावेदले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारी र राजदुत जावेदबीच शितल निवासमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल–पाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएको राजदुत जावेदसँगको विदाई भेटमा राष्ट्रपति भण्डारीले जावेदलाई नेपाल पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकामा धन्यवाद व्यक्त गरिन् ।
भेटमा राष्टपति भण्डारीले नेपाल र पाकिस्नाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् । राजदुत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाई सुखद रहेको भन्दै नेपाल र नेपालीबाट आफूले राम्रो सहयोग र न्यानो माया पाएको बताए ।

उनले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको बताए । राजदुत जावेदले यो क्षेत्रको विकासका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउन आवश्यक रहेको भन्दै यसका लागि नेपालले समेत भूमिका बढाउनुपर्ने बताए । राजदूत जावेद यहि महिना आफ्नो कार्यकाल सकिएर स्वदेश फर्किदैछन् ।