Friday, 27, November, 2020

लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी युवाको काँधमा : पूर्वमन्त्री जोशी

काठमाडौं, नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी युवाको काँधमा रहेको बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले २३ औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘गणेशमानजीको त्याग, समर्पण, सङ्घर्षशीलता र आजको युवा’ विषयक भर्चुअल कार्यक्रममा उहाँले लोकतन्त्रको संरक्षण गर्ने जिम्मा काँग्रेस र युवाको काँधमा रहेको बताउनुभएको हो ।
पूर्वमन्त्री जोशीले राजनीतिक नेतृत्वमा नैतिकता र इमान्दारिता आवश्यक रहेको बताउँदै नैतिकता र इमान्दारिता गुमाउँदा लामो सङ्घर्षबाट उपलब्ध गरेको राजनीतिक व्यवस्था नै गुम्ने खतरा रहेको उल्लेख गर्नुभयो । प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका नेता जोशीले निष्ठा, इमान्दारिता र लोकतन्त्रप्रतिको प्रतिवद्धता गणेशमान सिंहमा रहेको बताउनुभयो । प्रदेशसभा सदस्य जीवन डङ्गोलले राणा विरोधी आन्दोलन गरेर जनताको अधिकारका लागि लड्ने नेता स्वर्गीय सिंह भएको उल्लेख गर्नुभयो । मूल्य र मान्यतामा आधारित राजनीतिक गर्ने नेता स्व सिंह भएको उहाँको भनाई थियो ।
कार्यक्रममा काँग्रेस युवा नेताहरु मनोजमणि आचार्य, जन्मजय तिमल्सेना, रत्न कार्की, डिल्लीराम सुवेदी, प्रतिमा गौतमलगायतले जनताको हक अधिकारका लागि इमान्दारीपूर्वक लड्ने नेता सिंह भएको उल्लेख गर्नुभएको थियो । गणेशमान सिंहको जीवनीबाट युवा नेताले पाठ सिक्नुपर्ने उहाँहरुको भनाई थियो ।–––