Friday, 04, December, 2020

उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो : मापदण्ड पालना नगर्नेलाई कडा कारबाही

काठमाडौँ, उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले तीन सातादेखि लगाइएको निषेधाज्ञालाई खुकुलो पारेको छ ।
व्यापार–व्यवसाय खोल्न र निजी तथा सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

सरोकारवाला क्षेत्र, सरकारी निकाय र गृह मन्त्रालयसँग समन्वय गरेर काठमाडौंका प्रजिअ जनकराज दाहाल, भक्तपुरकी हुमकला पाण्डे र ललितपुरका नारायणप्रसाद भट्टको संयुक्त बैठकले निषेधाज्ञाको ढाँचा फेर्ने निर्णय गरेको हो । जात्रा, महोत्सव, भीडभाड, चाडपर्व, सांस्कृतिक तथा धार्मिक गतिविधिलगायतमा लगाइएको निषेधाज्ञा भने आगामी ३१ गते मध्यरातिसम्म लम्ब्याइएको छ ।

काठमाडौंका प्रजिअ दाहालले निषेधाज्ञा मात्रै संक्रमण रोकथाम तथा नियन्त्रणको उपाय नभएको र विस्तारै बन्द रहेका आर्थिक गतिविधिलाई सामान्यतर्फ ल्याउन निषेधाज्ञा खुकुलो पारिएको बताए । सरकारी कार्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर सार्वजनिक सेवा प्रवाहलाई सुचारु गर्दै लगिने उनले बताए । ‘हामीले उद्योगधन्दा, व्यापार–व्यवसायलगायत आर्थिक गतिविधिलाई सामान्य अवस्थातर्फ ल्याउन निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेका छौं, यसले जनजीविकासँग जोडिएका सबै क्षेत्रलाई सम्बोधन गर्नुका साथै जनजीवनलाई क्रमशः सामान्य अवस्थातर्फ लैजानेछ,’ दाहालले भने ।

‘तर सर्त र स्वास्थ्य मापदण्ड पालना नगर्नेको हकमा प्रशासन निर्मम हुन्छ । नियम पालना नगर्दा आफू मात्रै होइन, अरूलाई पनि हानि पुग्छ भन्ने हेक्का सबैले राख्नु जरुरी छ,’ उनले भने ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि तीन जिल्लाका प्रशासनको संयुक्त बैठकले भदौ ३ बाट उपत्यकामा अत्यावश्यकबाहेकका सेवा सञ्चालनमा रोक लगाएको थियो । सुरुको दुई सातासम्म निषेधाज्ञालाई जनस्तरबाट सहजै लिइएकामा भदौ १७ पछि पनि मोडालिटीमा खासै परिवर्तन नगरिएपछि प्रशासनको निर्णयको विरोध सुरु भएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निजी क्षेत्रका प्रतिनिधिले पनि स्वास्थ्य सावधानी अपनाएर आर्थिक कारोबारसँग सम्बन्धित क्षेत्रलाई सुचारु गर्नुपर्ने माग गरेका थिए ।

उपत्यकाका प्रजिअहरूको संयुक्त बैठकपछि बुधबार साँझ सार्वजनिक गरिएको निर्णयअनुसार अत्यावश्यक क्षेत्रबाहेकका व्यापार–व्यवसाय बारअनुसार सञ्चालन गर्न अनुमति दिइएको छ । परिवर्तन गरिएको मोडालिटीले मजदुर, स्वरोजगारलगायत ‘गरिखाने वर्ग’ लाई केही राहत मिलेको छ । तयारी पोसाक तथा रेडिमेड मालसामान बिक्री गर्नेलाई बढी राहत मिलेको काठमाडौंका प्रजिअ दाहालले बताए । दसैं–तिहार, छठलगायत बढी आर्थिक कारोबार हुने चाडपर्व नजिकिँदै गरेकाले जनजीवन सहज बनाउँदै लैजान प्रशासनको पछिल्लो निर्णयले सहयोग पुग्ने देखिएको छ ।

निषेधाज्ञाको नयाँ मोडालिटीअनुसार निजी तथा सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न र स्वास्थ्य मापदण्ड पालना गरेर सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्ता, कस्मेटिकलगायत पसल सञ्चालन गर्न पाइनेछ । यस्ता पसल साताको तीन दिन ९सोमबार, बुधबार र शनिबार० मात्रै खोल्न पाइनेछ । भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसल आइतबार र मंगलबार मात्रै खोल्न पाउने बनाइएको छ । फर्निचर र अटो मोबाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्रै खोल्नुपर्ने छ ।

 

कुल सिट संख्याको आधाभन्दा नबढ्ने गरी भौतिक दूरी कायम गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछ । त्यसरी १६ सिटभन्दा बढीका (माइक्रो बसबाहेक) सवारीसाधन मात्रै गुडाउन पाइने छ । भाडाका ट्याक्सीमा तीन जनासम्म र परिवारको हकमा ५ वर्षमुनिका थप २ जना राखेर गुडाउन पाइनेछ । निर्माण सामग्रीसँग सम्बन्धित सवारीसाधनको हकमा दिउँसो २ देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाउने बनाइएको छ ।

होटलररेस्टुराँमा टेक–अवे र अनलाइन डेलिभरी सेवा मध्याह्न १२ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सहकारी संस्थाहरू बिहान ११ देखि दिउँसो ३ बजेसम्म खोल्न पाइनेछ । यात्रुवाहक सवारीसाधनले ढोकामै सेनिटाइजरको व्यवस्था गर्नुपर्नेछ । मालवाहक सवारी र सरकारी तथा संस्थानका सवारीसाधनमा भने जोरबिजोर लागू हुनेछैन ।

दैनिक उपभोग्य वस्तु बिक्री बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ । फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसल, इलेक्ट्रिक, डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र दिउँसो ४ देखि बेलुका ८ बजेसम्म खोल्न सकिनेछ । सवारी मर्मतसम्बन्धी वर्कसप बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।