Tuesday, 24, November, 2020

मन्त्री खतिवडाद्वारा राजीनामा

काठमाडौँ, अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।

संविधानमा संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनामात्र मन्त्री पदमा रहनसक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मन्त्री बनेका खतिवडा त्यसरी नियुक्त भएको भदौ २० गते ६ महिना पुग्दै थियो । गत फागुन २१ गते दोस्रोपटक मन्त्री भएका उनले राष्ट्रियसभा सदस्यमा मनोनित नहुने भएपछि राजीनामा दिन लागेका हुन् । फागुन २० पहिला उनी राष्ट्रियसभा सदस्यको हैसियतमा मन्त्री पदमा थिए ।

खतिवडाले आफ्नो कार्यकालमा नेपालको अर्थतन्त्रको आधार तयार पारिएको बताएका थिए । मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा आफ्नो कार्यकालको समीक्षासहित प्रस्तुत भएका उनले भावी दिनमा नेपालको अर्थतन्त्र कसरी अगाडि बढाउने भन्ने सुझाव दिएका छन् । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यको सिट रिक्त छ । उक्त सिटमा नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडा सरकारबाट बाहिरिएका हुन् ।