Friday, 27, November, 2020

त्रिशूली वाङ्मयको ‘कोरोना र कविता’भर्चुअल कवि गोष्ठी

नुवाकोट, त्रिशूली वाङ्मय प्रतिष्ठानले आयोजना गरेको ‘कोरोना र कविता’  विशेष भर्चुअल कवि गोष्ठीमा स्वदेश तथा विदेशमा रहेका नुवाकोटेली स्रष्टाहरुले साहित्यिक रचना वाचन गरेका छन् ।

विश्वव्यापी महामारी बनेको कोभिड–१९ को असरका कारण भोग्नु परेका समस्या र अनुभूतिलाई स्रष्टाहरुले कविताका माध्यमबाट पोखेका थिए ।  कार्यक्रममा ईश्वर पौडेल, (अस्ट्रेलिया), कृष्ण कुसुम, (अमेरिका), गीता पुडासैनी (नुवाकोट) जानुका दहाल (नुवाकोट), प्रकाश अजात (युएई), प्रकाश पाण्डे, (अमेरिका), मोदनाथ सादा (अमेरिका), राजकुमार अर्याल ‘पुत्ला’, (नुवाकोट), राजकुमार पुडासैनी, (बेलायत), राजिन्द्र फुँयाल, (कोरिया), राजु पुडासैनी, (भारत), रुपा थापा, (नुवाकोट), विक्रम तिमिल्सिना, (अस्ट्रेलिया), सजिना मोक्तान (जापान), सुमित्रा सुमी, (नुवाकोट)ले रचना वाचन गरेका थिए ।

प्रमुख अतिथि तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं महाकाव्यकार श्रीहरि फुयाँलले  महामारीको त्रासमा सिर्जना वाचनले सबैको मन हल्का बनाइदिएको बताए । स्रष्टाहरु जतिसुकै त्रासमा बसेपनि मनमा आश र आत्मबलले भरिएका हुन्छन् भन्ने पुष्टि सर्जकहरुका सिर्जनाले गरेको उनले बताए ।

संस्थाका अध्यक्ष एवम् कवि आरएम डङ्गोलले पर्यटनका लागि साहित्य भन्ने मूल नाराका साथ २०६६ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्यिक यात्रा र गतिविधि गर्दै आएको र साहित्य, पर्यटन र समृद्धिलाई जोड्ने गरेको उल्लेख गर्दै देश विदेशमा रहेका नुवाकोटेली साहित्यकारहरुलाई समेटेर अनलाइन मार्फत भर्चुअल कवि गोष्ठी गरिएको बताए ।

प्रतिष्ठानले हरेक बर्ष घटस्थापनाको दिन शारदीय कविता उत्सव गर्दै आइरहेको जानकारी दिँदै प्रतिष्ठानका उपाध्यक्ष एवम् नियात्राकार राजेन्द्रमान डङ्गोलका अनुसार , यो विषम परिस्थितिमा विश्वका बिभिन्न देशमा रहेर सिर्जना गरिरहेका नुवाकोटेली सर्जकहरुलाइ प्रविधी मार्फत जोड्ने प्रयास सफल भएको बताए ।

प्रतिष्ठानले हरेक बर्ष बिभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा साहित्य यात्राहरु सञ्चालन गर्दै आइ रहेकोछ भने विभिन्न किसिमका साहित्यिक गतिविधीहरु पनि गर्दै आइरहेको छ भने अर्धवार्षिक रुपमा साहित्यिक पत्रिका त्रिशूली त्रिवेणी प्रकाशन पनि गर्दै आइरहेको छ । सम्पूर्ण कार्यकमको रेडियो चिम्टेश्वर ९०.९ मेघाहर्जले प्रत्यक्ष प्रशारण भएको थियो ।