Saturday, 28, November, 2020

अन्तर्राष्ट्रिय उडान सुचारु

काठमाडौँ, कोरोना संक्रमण फैलिन नदिन २०७६ चैत ९ गतेदेखि रोक लगाइएको व्यवसायिक अन्तर्राष्ट्रिय उडान १ सय ६२ औं दिनपछि (मंगलबारदेखि) सुचारु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार पहिलो दिन नियमित उडानमा नेपाल वायुसेवा निगमको एउटामात्रै उडानको तालिका रहेको छ ।

उनका अनुसार निगमको वाइडबडी राति जापानको नारिता उड्दै छ । लकडाउनको ५ महिनापछिको यो नै पहिलो व्यवसायिक उडान हो । निगमका अनुसार यो उडानमा काठमाडौंबाट १ सय ७१ जना जाँदै छन् भने नारिताबाट २ सय २० जना यात्रु बुधबार दिउँसो काठमाडौं आउँदैछन् ।

मंगलबार चार्टर तथा कार्गोतर्फ ५ वटा उडान भए । विमानस्थलका अनुसार नेपाल वायुसेवा निगमले दोहाबाट १ सय ३८ जना र हिमालय एयरलायन्सले १ सय २६ यात्रु ल्याएका थिए । त्यसैगरी नेपाल वायुसेवा निगमको एउटा विमान कुवेत गएको थियो । कार्गो चार्टर उडानतर्फ एयर अरेबियाले सारजहाबाट ६६ सय ५० केजी कार्गो ल्याएर आएको थियो भने कार्गो लिन हिमालयको जहाज साझ कुन्मिङका लागि उडेको थियो ।

विमानस्थलमा चार्टर र नियमित उडानबाट आउने यात्रुहरुलाई छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी० मातहतको सैनिक टोलीले काठमाडौंका चार स्थानमा बनाइएका होल्डिङ सेन्टरमा लैजाने गरेको छ ।

सरकारले चार्टर र नियमित उडानमा आउने यात्रुको ७२ घण्टाअघिको पीसीआर जाँच अनिवार्य हुनुपर्ने भनेको छ । पीसीआर जाँच सुनिश्चित नगरी वायुसेवाले यात्रु ल्याउन पाउने छैनन् । पीसीआर नेगेटिभ भएका यात्रुले १४ दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने छ । यदि आरटीपीसीआर जाँच गरेका र नगरेका यात्रु ल्याइएको पाइएमा वायुसेवा कम्पनीको खर्चमा सबै यात्रुलाई ७ दिन काठमाडौंमा रहेका होटल क्वारेन्टाइनमा राखिने छ ।