Saturday, 17, April, 2021

कोरोनाले नेपालमा पुस मध्यसम्म झण्डै ५० हजारको ज्यान जाने आँकलन सत् प्रतिशत गलत – डा. पाण्डे

काठमाडौं ।  नेपालमा पुसको मध्यसम्म अर्थात् डिसेम्बरसम्म ४९ हजार २ सय जना नेपालीको कोभिड १९ को कारण मृत्यु हुन्छ भन्ने अक्सफोर्ड विश्वविद्यालयको निष्कर्षलाई जनस्वास्थविद् डा.रविन्द्र पाण्डेले गलत भएको दावी गरेका छन् ।

कोरोनाबाट ८१ प्रतिशत नेपाली संक्रमित हुने अर्थात् झण्डै ५० हजार नेपालीको ज्यान जानसक्ने भनी गरेको आँकलनले आम जनमानसमा त्रास उत्पन्न भएको भन्दै जनस्वास्थविद् डा. रविन्द्र पाण्डेले सत् प्रतिशत गलत भनी प्रतिक्रिया जनाएका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘एउटा अध्येताको नाताले म दावी गर्दछु कि त्यो अनुमान १०० प्रतिशत गलत हो उक्त अध्ययनमा प्रकाशित संक्रमित एवम् मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन ।’

उनले अगाडि भनेका छन्, ‘जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्चबिन्दुमा पुग्ने लगायत कुनै पनि तथ्यांक सही छैनन् ।’

डा. पाण्डेले भनेका छन्, ‘महामारीको समय यी र यस्ता अनेकौं हल्ला र भ्रम आइरहेका छन् कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्नुहुन म बिनम्र अनुरोध गर्दछु ।’

उनको भनाईलाई प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेलले पनि समर्थन जनाएका छन् । मुख्यमन्त्री पोखरेलले प्रतिक्रियामा लेखेका छन् – ‘नेपालको भूअवस्थिति र आर्थिक सामाजिक परिवेश र पारिवारीक प्रणालीको परिप्रेक्षमा अध्ययन नगरिएको हुँदा यस्तो मनोगत रिपोर्ट तयार भएको होला । यस्ता रिपोर्टले प्रतिष्ठित संस्थाको अध्ययन प्रणालीमा समेत प्रश्न खडा गरिदिएको छ । उक्त रिपोर्टका बारेमा तपाईको विश्लेषण सही छ । समयमा जनतालाई सही जानकारी दिनु भएकोमा धन्यवाद ।’