Tuesday, 20, April, 2021

जापानका प्रधानमन्त्रीद्वारा राजीनामा

जापानका प्रधानमन्त्रीद्वारा राजीनामा

जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यका कारण पदबाट राजीनामा दिएका छन्। लगातार सबैभन्दा लामो समय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री अबेले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन्।

भलै मेरो कार्यकालको एक वर्ष अझैं बाँकी रहेपनि मैले मेरो स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको छु,ू शुक्रबार टोकियोमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन् गर्दै प्रधानमन्त्री अबेले भने।

अबेले जापानका नगारिकसँग कोरोना महामारीको समयमा आफ्नो कर्तव्य पूरा गर्न नपाएको भन्दै माफी समेत मागे।

सन् २०१२ देखि लगातार प्रधानमन्त्री रहेका अबेले जापानको इतिहासमै सबभन्दा बढी समय लगातार सरकार प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।

त्यसअघि पनि सरकारको नेतृत्व गरेका अबेले स्वास्थ्यकै कारण सन् २००७ मा एक वर्षमै पद छाडेका थिए। अबे पेटसम्बन्धी गम्भीर रोगबाट पीडित रहँदै आएका थिए।

एनएचकेले आफ्नो अनलाइन पोर्टलमा उल्लेख गरे अनुसार अबे गत साता मात्र दुई पटक अस्पताल पुगेका थिए।

जापानमा आएको प्राकृतिक विपत्ति र कोरोनाभाइरस संक्रमणको महामारीका कारण अबेले १४७ दिनसम्म अनवरत काम गरेको एनएचकेले आफ्नो समाचारमा उल्लेख गरेको छ।