Saturday, 16, January, 2021

सरकारको सहि काममा साथ दिऔं, गलत काममा प्रश्न गरौं – युवा नेता शाही

जुम्ला । कोरोनाको बढ्दो जोखिमका कारण जुम्लावासी पनि यतिबेला त्रसित भएका छन् । संक्रमितको संख्या दिनदिनै बढ्दै गईरहेको छ । कोरोना रोकथाम तथा संक्रमण फैलन नदिन आम नागरिक जस्तै सम्बन्धित निकाय पनि चनाखो देखिदैनन् । पीसीआर परिक्षणको दायरा बढाउनु अत्यन्त आवश्यतकता भएको छ । यसैबिच नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले महामारी नियन्त्रणमा सबै नागरिकले सरकारलाई साथ दिनुपर्ने तर सरकारका गलत कार्यमाथि प्रश्न गर्न छोड्न नहुने बताएका छन्।

एक विज्ञप्ती जारी गर्दै नेता शाहीले जुम्लामा पीसीआर प्रविधिबाट कोरोना परीक्षणको दायरा नबढ्दा संक्रमणको जोखिम बढेको तर्क गरे । विश्व महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) रोगले विश्व ग्रसित भईरहेको बेला कर्णाली प्रदेशलगायत जुम्ला र जिल्लाको हिमा गाउँपालिका पनि अछुतो नरहेको भन्दै कोरोना रोकथाममा गम्भिर हुन उनको सुझाब छ ।

पीसीआर परीक्षणलाई फराकिलो बनाउदै जिम्मेवारीपुर्ण ढङ्गले आ आफ्नो तह र तप्काबाट कोरोना नियन्त्रणमा सहयोग गर्न उनको आग्रह छ ।

सामाजिक भावनाको विकाश गर्न र कोरोनाबाट बच्नका लागि सचेतना मुलक सन्देश व्यक्त गर्न जरुरी रहेको उनले बताए । महामारी नियन्त्रणमा सरकाररले गरेका राम्रा काममा साथ दिन र सरकारका गलत कार्यमाथि प्रश्न भने गर्न छोड्न नहुने उनको तर्क छ ।