“लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो
लेकै हेर्यौ लाली गुराँस बेंसी हेर्यो प्याउली
पिरती बास्ने परेवा बिरह बोल्ने न्याउली
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछु गाउँदा गाउँदै साथीले
सम्झन्छु म हिउँचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन माया बसाली
वनमा घाम नलागे जगत सारा अँधेरो
नौडाँडाको पारीमा प्रीतिको देश छ मेरो”
काठमाडौं, यी मीठा शब्दहरुका रचयीता राष्ट्रकवि माधव घिमिरे अब हामीमाझ रहेनन् । घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौैंका लाजिम्पाट स्थित आफ्नै घरमा घिमिरेको निधन भएको पारिवारिक श्रोेतले जनाएको छ ।
उनको जन्म विं सं। १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । राममविलास (रचना १९९५) बाट खण्डकाव्यको यात्रा सुरु गरेका कवि घिमिरेको २०१५ मा प्रकाशित गरेको गौरी खण्डकाव्य सबैभन्दा चर्चित खण्डकाव्य हो ।
घिमिरेद्वारा लिखित ऋतम्भरा महाकाव्य उनको अपूर्ण कृति हो । त्यस्तै, पापिनी आमा, राजेश्वरी, राष्ट्रनिर्माता,धर्तीमाता जस्ता काव्यसंग्रहहरू, मालतीमङ्गले, शकुन्तला, हिमालवारि हिमालपारि जस्ता गीतिनाटकहरू घिमिरेलाई जीवन्त राख्ने साहित्यिक रचनाहरू हुन् ।
उनलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले छन्द शिरोमणिको उपाधिबाट अभिनन्दन गरेका थिए । त्यसको तीन दिनपछि उनलाई राष्ट्रकविको रूपमा अभिनन्दन गरिएको हो ।