Tuesday, 20, April, 2021

गोंगबु हत्या आरोपी पक्राउ, नशालु चक्की खुवाएर बेहोस बनाई हत्या गरेको खुलाशा

काठमाडौं, गोंगबुमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर सुटकेशमा शव फाल्ने आरोपीलाई सोमबार प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याएको छ ।

हत्या गर्ने महिलाले आफ्नो वास्तविक नाम कल्पना मुडवरी भएको बताएकी छिन् । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्ने गरेको उनले बताईन् ।

कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘हत्या गरेको’ स्विकारेकी छिन् ।

आफुलाई दुःख दिन आएपछि हत्या गरेको आरोपीले बताएको हत्या अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने– ‘शव व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको खुलेको छ।’

कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । उनले दावी गरेपनि प्रहरीको अनुसन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ ।

मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।

प्रहरीले उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ पनि बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाले मंगलबार घटनाबारे जानकारी दिन संयुक्त पत्रकार सम्मेलन गर्दैछ ।

भागेर छोरा–छोरीसहित चितवन शक्तिखोरस्थित घरमा गएकी उनलाई चितवन प्रहरीसँगको समन्वयमा काठमाडौँ प्रहरीले टाँडीबाट पक्रेर काठमाडौँ ल्याएको हो ।