Thursday, 21, January, 2021

१ हजार घरमा सर्च अपरेशन, अझै खुलेन गोङ्गबुमा भेटिएको शवको पहिचान 

काठमाडौँ, आइतबार बिहान गोंगबु चोकबाट उत्तर–पश्चिमतर्फको ५०० मिटर दूरीमा एउटा सुटकेश भेटियो । पर्किङ गरेर राखिएको एक ट्याक्सी र मारुती भ्यानको बीचमा रातो प्लाष्टिकले बेरिएको सुटकेश देखिएपछि नजिकै इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका धर्मस्थली घर भई टोखा नगरपालिका–१० विश्वज्योती मार्ग बस्दै आएका नारायणमान खड्गीलेले प्रहरीलाई खबर गरेका थिए ।

सुटकेश नजिक गएर हेर्दा सुटकेशको बाहिर आलो रगतका टाटा देखेंपछि आफुले प्रहरीलाई १०० मा फोन गरेको बताए । त्यसपछि स्थानियसंगै प्रहरीको टोली पनि पनि घटनास्थल पुगेको थियो ।

काठमाडौँ प्रहरी प्रमुख र महानगरीय अपराध महाशाखा प्रमुख घटनास्थल पुगेका थिए । सुटकेशमा घुँडादेखि माथि र घाँटीदेखि तलसम्मको भाग मात्र भेटिपछि खुट्टा र टाउको खोज्न प्रहरीले कुकुरको सहायता लिएको थियो । प्रहरीको तालिमप्राप्त कुकुरले शरीर प्याक गरिएको सुटकेशभन्दा करिब २ सय मिटरको दुरीमा दुई खुट्टा र टाउको जेब्रा झोलामा फेला पारेको थियो । क्रुर तरिकाले हत्या गरिएका पुरुषको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

महानगरीय अपराध महाशाखाको जम्बो टोलीले सो हत्या अनुसन्धान गरिरहेको छ । करिब १ हजार घरमा प्रहरीले सर्च अपरेशन गरिरहेको छ तर शवको पहिचान अझै खुल्न नसकेको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापाले बताए ।