Saturday, 10, July, 2021

बिहीबारदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौं, सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको जानकारी दिए ।

सरकारले बिहीबारबाटै लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरको छ । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधनमा जोर विजोर प्रणाली लागू हुनेछ ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।