Tuesday, 20, April, 2021

जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ राजनैतिक नक्सा

इस्लामाबाद,  जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर पाकिस्तानले नयाँ राजनीतिक नक्सा जारी गरेको छ ।

पाकिस्तानी मन्त्रिपरिषद् बैठकले नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति प्रदान गरेको प्रधानमन्त्री इमरान खानले मंगलबार जानकारी दिएका छन् ।

पाकिस्तानका सबै विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीरका नेताहरुले यस निर्णयको स्वागत गरेका छन् । नयाँ नक्सा जारी भएको जानकारी दिँदै इमरान खानले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनैतिक नक्साले पाकिस्तानी नागरिकको खुसीलाई प्रतिनिधित्व गर्छ । यसले पाकिस्तान र कश्मीरी नागरिकको सैद्धान्तिक विचारधारालाई समर्थन गर्छ ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यो नक्साले भारतले गत अगस्ट ५ मा जारी गरेको नयाँ नक्सालाई पनि खारेज गर्ने दाबी गरेका छन् । ‘भारतले गत वर्षको अगस्ट ५ मा कश्मीरमा जुन गैरकानुनी कदम उठाएको थियो, त्यसलाई यो राजनीतिक नक्साले खारेज गरिदिएको छ ।’ खानका अनुसार अब पाकिस्तानका सबै स्कुल, कलेज र कार्यालयहरुमा मंगलबार जारी गरिएकै नक्सा प्रचलनमा आउनेछ ।

भारतले गत वर्षको अगस्ट ५ मा भारतीय संविधानको धारा ३७० मार्फत जम्मू–कश्मीर राज्यलाई प्राप्त विशेष राज्यको दर्जा खारेज गरेको थियो । साथै जम्मू–कश्मीर राज्यलाई विभाजन गर्दै केन्द्र शासित जम्मू–कश्मीर लद्दाख प्रदेश बनाएको थियो ।

मंगलबार नयाँ नक्सा जारी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीर विवादको एक मात्र समाधानको उपाय संयुक्त राष्ट्र संघको प्रस्ताव मान्नु भएको बताएका छन् । ‘कश्मीरी नागरिकलाई संयुक्त राष्ट्र संघको प्रस्तावले मतदानमार्फत भारततर्फ मिसिने वा पाकिस्तानतर्फ मिसिने भन्ने अधिकार दिन्छ । यो अधिकार उनीहरुले विरासतमा पाएका हुन् जुन अहिले प्राप्त भएको होइन,’ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने ।