Saturday, 16, January, 2021

लगानी बोर्डमा नियुक्तिलाई लिएर ओली – प्रचण्डको चर्काचर्की

काठमाडौँ, सरकारले लगानी बोर्डको कार्यकारी कार्यकारी अधिकृतमा सुशिल भट्टलाई नियुक्त गरेकोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् । मंगलबार साँझ बालुवाटारमा दुई अध्यक्षसहित नेता खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सहभागि वार्ताको सूरुमै लगानी बोर्डको कार्यकारी प्रमुखमा भट्टको नियुक्तिको विषयलाई लिएर चर्काचर्की भएको एक नेताले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको थियो ।

विवादित व्यक्तिलाई नियुक्ति दिएको भन्दै प्रचण्ड र खनालले आपत्ति जनाएपछि केहीबेर चर्काचर्की नै भएको थियो । प्रचण्ड र खनालले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनैपनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएका थिए ।

केहीबेरको तनावपूर्ण अवस्थापछि बैठक दोस्रो एजेण्डामा प्रवेश गरेको थियो । ओली र खनालले तत्काल यी कमिटी बैठक राख्न जोड दिएका थिए भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पहिला सचिवालय बैठक राख्ने त्यसपछि मात्रै स्थायी कमिटी बैठक राख्ने अडान दोहोर्‍याएका थिए।

दुवै पक्षको अडानमा कायम भएपछि बुधबार फेरि छलफल गर्नेगरि वार्ता सकिएको बताइएको छ ।

यसअघि आइतबार, सोमबार र मंगलबारसम्म तीन दिन लगातार संवाद हुँदा पनि दुवैपक्ष आ–आफ्नो अडानमा जहाँको त्यहीँ छन् । प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ । दुवै पद नछाड्ने ओलीको अडान छ । स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उनीहरुबीच मतभेद छ । एक सय ५२ केन्द्रीय सदस्यले लिखित माग गरे पनि केन्द्रीय कमिटीको बैठक अनिश्चित छ ।