Saturday, 10, July, 2021

अभियानको नयाँ कार्यक्रम

भक्तपुर । विभिन्न प्रकारका साहित्यिक गतिविधि गर्दै आएको सिर्जना अभियानले कोरोना महामारीलाई ध्यानमा राखेर निश्चित संख्यामा स्रष्टाहरुको भेला गराएर छिटोछरितो रुपमा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिन थालेको छ । भक्तपुरका स्रष्टाहरुबीच संवाद तथा भेटघाटका साथै सिर्जनात्मक बहस प्रारम्भ गर्ने उद्धेश्यले प्रत्येक हप्ता शनिबारका दिन साँझ भक्तपुरको बाराहीस्थानमा भेटघाटको कार्यक्रम गर्ने जनाएको छ ।

अभियानको आयोजनामा भक्तपुरको बाराहीस्थानमा भएको अनौपचारिक कार्यक्रमा सो जानकारी दिइएको हो ।

अभियानका सचिव धु्रव मधिकर्मीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका कारण लेखकहरु जिल्लाबाहिर जान नसकिने स्थिति भएकाले स्थानीय रुपमा साहित्यिक गतिविधि गरेर साहित्यको विकास र लेखनलाई सार्थक तुल्याउने उद्धेश्य रहेको बताए ।

कार्यक्रममा कविहरु नवीनप्रकाश श्रेष्ठ, सुरेन्द्रलाल भुजू, तेजकृष्ण श्रेष्ठ, काशीराम विरस र धु्रवनारायण जोन्छे र बसन्त नकर्मीले कविता वाचन गरेका थिए भने हरिगोविन्द भोमी, रामेश्वर भुजू र श्याम आशाले कार्यक्रमका बारेमा आआफ्ना विचार राखेका थिए ।