Wednesday, 09, June, 2021

बलात्कार आरोपमा युट्युबर अर्जुन शिवाकोटी जेल चलान

काठमाडौं, युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटीलाई बलात्कार आरोपमा डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।

विश्व हिन्दु महासंघको पदाधिकारी पनि बताउने शिवाकोटीले बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिपक थापाले जानकारी दिए ।
शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो । शिवाकोटीले १४ महिनादेखि बालिकाहरुलाई बलात्कार गर्दै आएको खुलेको छ । बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखासम्म पुगेका थिए ।

घटना संवेदनशील भएकाले महाशाखाले एक जना महिला डीएसपीलाई खटाएर अनुसन्धान गरेको थियो ।