काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ ।
गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो ।
नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ ।

भारतलाई जवाफ पठाउदैंनौं – शरदकुमार पोख्रेल, प्रमुख जिल्ला अधिकारी,दार्चुला
भारतले नेपाली भूमि कालापानीलगाएतमा प्रवेश गर्न नेपालीलाई प्रतिबन्ध गर्ने गरी पत्राचार गरेपनि नेपालले त्यसबारे भारतलाई जवाफ नदिने भएको छ।
भारतको धार्चुलास्थित इलाका प्रशासन कार्यालयले नेपालको दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै त्यस भूभागमा नेपालीलाई प्रवेश गर्न नदिन पत्र पठाएको थियो।त्यस भूभागमा नेपालीहरु लूकिछिपि गएको र त्यस्ता गतिबिधिबारे सूचना दिन भन्दै पत्राचार गरेको छ।
‘नेपालको संविधानले आफ्नो देशभित्र आवागमन गर्न पाउने अधिकार भएको हुँदा भारतलाई यसबारे कुनै जवाफ लेखिरहनु आवश्यक नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोख्रेलले बताए । उनले भने,आफ्नो देशमा जहाँ पनि जान सक्छन् नेपली नागरिक भारतलाई चासो भएको विषय होईन ।
त्यो क्षेत्र विकट र हिमाली भएकाले सामान्य अवस्थामा पनि हिडडुल गर्न गाह्रो छ।
बाढीपहिरो र लकडाउनका कारण यतिबेला आवागमन नभएको सुरक्षा अधिकारीले जनाएका छन्।
प्रमुख जिल्ला अधिकारी पोख्रेलले पनि त्यस क्षेत्रमा कोही गएको जानकारी पनि नभएको बताए।
‘