Thursday, 23, September, 2021

कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु, मृतकको संख्या ४७ पुग्यो

काठमाडौं, धनुषामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले जानकारी दिए । उनको आइतबार साँझ ७ बजे कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको झाले बताए ।

ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका–८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना संक्रमितको मृत्यु भएपछि सुरक्षा सतर्कता अपनाउने सम्बन्धी छलफल भइरहेको जानकारी दिए ।

आइतवार विहान वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डक अस्थायी कोभिड–१९ अस्पतालमा उपचारत भारत विहारका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वास्थ्य अवस्था बिग्रदै गएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा. मदन उपाध्यायले जानकारी दिए । उनलाई एकहप्ता देखि ज्वरो आइरहेको थियो। डा.उपाध्यायका अनुसार ती पुरुष मधुमेहका बिरामी थिए। उनको स्वाब परीक्षणको रिपोर्ट मृत्यु पछि आएको हो। यो सगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।