Sunday, 13, June, 2021

राष्ट्रिय मुद्दामा एकताको खाँचो

अभि प्रेम

काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर उखान अहिलेको नेपालको परिप्रेक्षमा अति सान्दर्भिक देखिन्छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समावेश गरिनु निकै स्वागतयोग्य कुरा छ । यो विषयमा नेपालमा अभूतपूर्व एकता देख्न पाइयो । अब नक्सामा मात्र होइन वास्तविक रुपमा उक्त भूमि नेपालको भएको हेर्न नेपाली जनता आतुर छन् । नेपाली भूमिबाट भारतीय सेना हटेको दिनको पर्खाइमा नेपाली जनता छन् । यो विषयमा नेपाली एकजुट छन् ।

बिगतमा भारतसित गरेका विभिन्न सन्धि सम्झौताहरु नेपालको हितमा कम तर भारतको हितमा बढी छन् । चाहे त्यो सुगौली सन्धि होस चाहे महाकाली सन्धि । भारतसितको विभिन्न असमान सन्धि भएका छन् । नेपाल बढीभन्दा बढी फाइदा लिन नराम्रोसित चुकेको छ । बेलाबखतमा गरिएका यि असमान सन्धि नेपाल र नेपालीका लागि गलपासो सावित भएका छन् । भारतसित गरिएका कुनै पनि सन्धि सम्झौतामा नेपालीहरु एकमत हुन सकेका छैनन् ।

बेला बेला नेपालको सार्वभौमता संकटमा पर्ने गरेको छ । देशहित निम्ति एकढिक्का हुनुपर्नेमा नेपालीहरु आन्तरिक विवादमा अल्मलिने गरेका छन् । यहाँका पार्टी तथा नेताहरु आन्तरिक विवादमा डुबेका छन् । उनीहरु देशको हितमा भन्दा पनि व्यक्तिगत लाभका लागि मात्र सोचिरहेको पाइन्छ । विश्व कोरोना भाइरसको महामारीबाट ग्रस्त भएको बेला नेपाल पनि यसबाट बच्न सक्ने कुरै भएन् । नेपालीहरु कोरोना भाइरसका कारण आक्रान्त छन् । यसबाट पार पाउने उपायको खोजी गर्ने बेला सरकार, यहाँका राजनीतिक दल, जनता अरु नै विषयमा रुमल्लिएका छन् । चाहे रुकुममा भएको जातिय नरसंहारको घट्ना होस वा स्वास्थ्य सामग्री खरीदका क्रममा गरिएको आर्थिक अनियमितता होस नेपालीहरु विभाजित भएका छन् ।

पक्ष विपक्षमा बहसहरु भइरहेका छन् । हामी आन्तरिक विषयमा बाँडिएका छौँ ।देश कोरोना भाइरसले आक्रान्त भएका बेला ब्यापक आर्थिक अनियमितताको कुरा आएको छ । यो निकै लज्जाजनक कुरा छ । यहाँ मानवता हराउँदै गएको छ । महामारीको बेला मानवको स्वास्थयमाथि खेलवाड गर्नु जघन्य अपराध मनिन्छ । सरकारले यसको सत्य तथ्य छानविन गर्नुपर्छ । सरकार कुनै पनि हालतमा यसबाट पछि हट्नु हुन्न । यतिबेला देशमा सरकार छ, कानुन छ, न्यायालय छ भन्ने प्रत्याभूति जनतालाई दिनुपर्छ । सरकार र न्यायालयप्रतिको भरोसा र विश्वास कुनै पनि अवस्थामा टुट्न दिनु हुन्न ।

जनस्तरमा उठेका सवालको सरकारले सम्बोधन गर्नु पर्छ । सत्यतथ्य पत्ता लगाई दोषीलाई कानूनी दायरामा ल्याउनु पर्छ । आर्थिक अनियमितता जस्तो विषयमा सरकारले अनदेखा गर्नु हुँदैन । दोषीलाई दण्डित गरिएन भने देशमा अपराध गर्ने र गलत गर्नेहरुको मनोबल बढ्दै जानेछ । प्रहरी तथा अन्य निकायलाई सत्य तथ्य छानबिन गर्न सहज वातावरण निर्माण गर्नुपर्छ । यस्तो संयन्त्रलाई स्वतन्त्र छोड्नु पर्छ । अनि मात्र सत्य तथ्य कुरा जनतासामु ल्याउन सकिन्छ ।

संसद् जनताका हक हितबारे बोल्ने थलो हो । त्यसैले संसद्लाई बढीभन्दा बढी जनताको हितका लागि प्रयोग गर्नुपर्छ । देश र जनताका साझा समस्याबारे त्यहाँ बहस गरिनु पर्छ । तर बिडम्बना यहाँ त्यसो हुन सकिरहेको छैन । जनप्रतिनिधिहरु संसदमा एक आपसमा आरोप प्रत्यारोपमा उत्रिने गरेका छन् । जनताको हक हितका लागि खर्चिने महत्वपूर्ण समय एकापसमै दोषारोपणका लागि व्यतित हुने गरेको छ ।

सांसदहरुले सदनको गरिमा राख्न सक्नु पर्छ । त्यसको उपहास गर्न हुँदैन । आफ्ना स्वार्थका मुद्दा उठाउँदा राष्ट्र हितका कुरा ओझेलामा पर्ने गरेका छन् । यसो गर्नु जनमतको अनादर गर्नु हो । पहिला देश समृद्ध बनाउनतर्फ लाग्नु पर्छ । देश बलियो भयो भने मात्र जनता पनि बलियो हुने हो । कोही कसैले पनि देशलाई भडखालोमा हाल्ने काम गर्न हुँदैन । देश रहे पो हामी रहने हो । अनि हामी आन्तरिक लडाई गर्न पाउँला, देशै नरहे के को आन्तरिक लडाइँ रु यसलाई सबै नेपालीले मनन गर्नु जरुरी छ । राजनीतिक दल तथा नेताले मैले यसो गरे उसो गरे भनेर त्यसै कुर्लनु आवश्यक छैन । यसको सब हिसाब किताब जनताले राखिरहेका हुन्छन् । त्यसैले कोहीले पनि त्यसै फुर्ति लाउन्न हुन्न । को सही को गलत । कसले जनताको हितका लागि काम गर्यो कसले गरेन भन्ने कुराको फैसला जनताले निर्वाचनमा मतदानमार्फत गर्छन । अहिलेसम्म नेपालको सद्भाव विश्वमै लोभलाग्दो छ ।

पछिल्लो समय यहाँ सामाजिक सद्भाव खलबल्याउने प्रयासहरु भइरहेका छन् । जनताको मनोबल सधैँ उच्च राख्नु पर्छ । उनीहरुको मनोबल गिर्न दिनु हुन्न । लेण्डुप दोर्जे प्रवृत्तिको सबैले बिरोध गर्नुपर्छ । नागरिकले राम्रा कामका लागि सरकारलाई मद्दत गर्नुपर्छ । असल नागरिकले सरकारले गर्ने असल कामका लागि सधैँ साथ दिन्छन् । सरकारले कहिँकतै बाटो बिराउन लाग्यो भने त्यहाँ नेर जनताले उसलाई सही मार्ग पहिल्याउनका लागि साथ दिनुपर्छ । असल देशभक्तले सधैँ खबरदारीको भूमिका निर्वाह गर्नुपर्छ ।

नेपाल अहिले कठिन घडीमा छ । संविधान र संघीयता कार्यान्वयनको चरणमा छ । सात प्रदेशमा बाँडीए पनि सबै कुरा उक्त संरचनामा परिणत हुन सकेको छैन । संसद्मा जनभावना विपरितका अभिव्यक्तिहरु अभिव्यक्त भइरहेका छन् । केहीले राष्ट्रिय हितका कुरालाई ओझेलमा पार्न हित विपरितका विषय उठान गरिरहेका छन् । यसबारे जनस्तरबाट त्यस्ता पात्रलाई खबरदारी गर्नु आजको आवश्यकता हो । देश हित विपरितका गतिविधि जनताले टुलुटुलु हेर्न सक्दैनन् । नेता तथा सांसदलाई देशको भविष्यप्रति सचेत हुन बाध्य पार्नु पर्छ । बाटो बिराउँदै गरेका नेता र जनप्रतिनिधिलाई सही ठाउँमा ल्याउनु पर्छ । राष्ट्रहित भन्दा ठूलो कुरा अरु कुनै हुन सक्दैन । सबै नेपाली राष्ट्रियताको एउटै छातामुनि रहनु पर्छ । देशहितका सवालमा हामी एकजुट हुनु पर्छ । देशभक्ति भन्दा ठूलो कुरा केही हुन सक्दैन । अब सत्ता मोहलाई त्याग्नु पर्छ । त्यसको ठाउँमा देश मोह हुनु पर्छ । हामीले बिगतका गल्तीबाट पाठ सिक्नु पर्छ । आफुलाई सच्चाउँदै लैजानु पर्छ । जनता नै सर्वोपरी हो । त्यसैले राम्रो नराम्रोको हिसाब किताब अधिकार पनि जनतामाथि निहित छ । सबै कुराको जानकार जनता नै हुन् ।

यो देशमा हाम्रा पूर्खाको गतिविधि गौरव गर्न लायक छ । हामी अहिले जे छौँ पूर्खाहरुकै बलिदानका कारण छौँ । पुर्खाले देखाएको बाटो बिर्सन हुन्न । यसमै हामी नेपालीको हित छ । बिगतका कमि कमजोरी सुधार गरी हामीले अघि बढ्ने हो । यो देश पशुपतिनाथको भरोसाले चलिरहेको छ भनेर मात्र पुग्दैन । हामीले आ आफ्नो ठाउँबाट देश बनाउन सक्दो योगदान दिनुपर्छ । यसबाट हामी पछि हट्नु हुन्न । त्यसो गर्यो भने मात्र देश बन्छ । देशमा हामीले चाहेको समृद्धि आउँछ । जनता समृद्ध बन्छन्