Saturday, 10, July, 2021

थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

काठमाडौं, नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। योसँगै कोरोना संक्रमितको मृतकको संख्या ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणका कारण मृत्यु भएका दाजुको अन्तिम संस्कारका लागि उनी भारतको बैंगलोर गएका थिए। अन्तिम संस्कारपछि उनी असार २४ गते नेपाल फर्किएर पर्रोहा नगरपालिकामा क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनी असार असार २९ गते नारायणी अस्पतालमा भर्ना भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आईसियूमा उपचाररत उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

२९ गते नै स्वाब संकलन गरिएपनि उनको बुधबार मात्र कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। उनको बुधबार दिउँसो २ :३० बजे निधन भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार एक सय ७१ पुगेको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार एक सय ७७ पुगेको हो।

पछिल्लो २४ घण्टामा पाँच हजार ८० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइन २४ हजार पाँच सय २७ जना छन्। आइसोलेसन ६ हजार एक सय १३ जनाको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा ६ सय ९७ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार ११ हजार २५ जनाले अहिलेसम्म कोरोना जितेका छन्। यो संख्या कुल संक्रमितमध्ये ६४ प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। बुधबार काठमाडौंमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।