Saturday, 16, January, 2021

दिल्लीको शक्ति प्रधानमन्त्रीबाट मलाई हटाउने खेलमा लागिरहेको छ : प्रम

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नया नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारती शक्तिले चलखेल गरिरहेको बताएका छन् ।

‘दिल्लीका सञ्चारमाध्यमका समाचार, अनि यहाँका होटेलमा भइरहेका गतिबिधिले आफै कुरा स्पष्ट पार्ने उनले बताए । एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ,’ प्रधानमन्त्री ओलीले भने ‘नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछु भनेको छ भने, यो नसोचे हुन्छ।’

मदन भण्डारी फाउण्डेसनद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई प्रधानमन्त्रीमा बसिरहन मन नभएको बताउँदै ‘खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ति नगरेको’ जिकिर गरे ।

अहिले केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ। संविधान संशोधन गरेर नक्सा सँच्याउने अपराध गर्नेलाई राख्नै नहुने भनिएको छ। यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ,’ उनले भने, ‘त्यसैले म आफ्ना लागि होइन, देशका लागि हो। हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता वहकाऊमा फस्ने छैन। कोशिस् गर्नेलाई गर्न दिउँ।’

आफूहरुले सच्याएर नक्सा सार्वजनिक गरेको र त्यसलाई संवैधानिक रुप दिएको बताए।

‘तपाईहरुले सुन्नुभएको हुनुपर्छ, हप्ता १५ दिन भित्र प्रधानमन्त्री परिवर्तन गरिँदैछ भनेर, भारतका मिडिया सुन्नुभएको होला,’ उनले भने, ‘भारतका बौद्धिक बहस सुन्नुभएको होला, कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ।’

भारतले नबनाऊ भन्दाभन्दै संविधान बनाएको र त्यसकै कारण नाकाबन्दीको सामना गरेको सन्दर्भ उल्लेख गर्दै नेपाल भारतवेष्ठित र खुम्चिएर रहेको परिस्थितिलाई परिवर्तन गर्न खोजेको समेत बताए।

प्रधानमन्त्री ओलीले पहिलो कार्यकालमा चीनसँग यातायात तथा पारवहन सन्धि गरेर फर्केपछि सरकार ढलेको स्मरण गरे।

नक्सा जारी गरेको र संविधान संशोधन गरेको कामलाई ठूलो अपराध गरेको झै आफुविरुद्ध केहि शक्ति लागि परेको उनले बताए ।