Tuesday, 20, April, 2021

भारतले मेची पुलमा रोक्यो २५ वटा नेपाली ट्रक, निर्यातमा अवरोध

काँकडभिट्टा — नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा भारतले रोकेको छ ।

लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भएपनि नेपाली वस्तु निर्यात हुन पाएको छैन । भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गरेको व्यवसायी पन्नालाल जैनले बताए । भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिक समझदारी अनुसार नेपाली वस्तु भारत निकासी गरिएको थियो । तर, भारतीय प्रहरीले पुलबाट प्रवेश गर्न नदिएको उनले बताए । व्यवसायी जैनले गाडी अगाडी जान नदिएपछि फर्काउन पनि नमिलेकोले सबै गाडी अहिले मेची पुलमा अलपत्र रहेको बताए ।

व्यवसायीका अनुसार सबै चिया, अलैंची र अम्रिसोका गाडी हुन् । चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात हुँदै आएको छ ।