Saturday, 16, January, 2021

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

काठमाडौँ — लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भारतीय अतिक्रमणमा परेका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सा संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको नेपालको निसान छापमा राख्नका लागि गरिएको संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् ।

सभामुख अग्‍िनप्रसाद सापकोटाले बिहीबार प्रमाणित गरेर उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको एक विज्ञप्ति जारी गरेर जानकारी दिएका हुन् । ’आज मिति २०७७ साल असार ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको ’नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विधेयक राष्ट्रिय सभाबाट बिहीबार र प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो । दुवै सदनबाट विधेयक सर्वसम्मतिले पारित भएको थियो ।

सरकारले भारतीय अतिक्रमणमा परेका भू(भाग समेटेर जेठ ७ गते नक्सा जारी गरेको थियो । उक्त नक्साका आधारमा संविधान संशोधनका लागि जेठ ९ गते संविधान संशोधन विधेयक संघीय संसदको प्रतिनिधिसभामा दर्ता गरिएको थियो ।विधेयक प्रमाणीकरण भएसँगै नेपालको निसान छापमा नयाँ नक्सा प्रयोगमा आउनेछ ।