Saturday, 16, January, 2021

चिनियाँ सेनासँगको झडपमा ३ भारतीय सैनिकको मृत्यु, ३४ सैनिक बेपत्ता

नयाँदिल्ली, चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएको बेलायती सञ्चार माध्यम टेलिग्राफले जनाएको छ ।

भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएको हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्। तर, भारतले यस विषयमा अहिलेसम्म औपचारिक रुपमा कुनै जानकारी गराएको छैन।

यसअघि भारतीय सेनाले गलवान उपत्यका गए राति चिनियाँ र भारतीय सेनाबीच झडप भएको र त्यस क्रममा भारतका एक कर्णेल र दुई जवानको मृत्यु भएको पुष्टि गरिसकेको छ।

चिनियाँ र भारतीय सेनाबीच धकेलाधकेल हुँदा आफ्ना सैनिक भीरबाट खसेको भारतीय अधिकारीको दावी छ।

लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत(चीन सीमामा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो। १९६७ मा सिक्किममा भारत र चीनका सैनिक आमनेसामने भएका बेला ८० भारतीय सैनिक मारिएका थिए भने चिनियाँ सैनिकमा पनि हताहती भएको थियो। १९७५ यता भने दुई देशका सैनिकहरूले एकअर्काको ज्यान लिएका थिएनन्।