Saturday, 17, April, 2021

रुकुम हत्याकाण्ड : किशोरीको परिवारले अपराध स्वीकार्‍यो

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा ६ जनाको हत्या आरोपमा पक्राउ परेकाहरुले अपराध स्वीकार गरेका छन्। मृतक नवराज विककी प्रेमिका भनिएकी किशोरी, उनका बुबाआमा र दाइले दिएको बयानका आधारमा भेरी नदीमा ६ जनालाई मारेर फालेको पुष्टि भएको प्रहरीले बताएको छ।

किशोरीका बुबाले पनि ती युवाहरुको हत्या गरिएको स्वीकार गरेका छन्।

किशोरीले नवराजसँग २०७५ फागुनमा फेसबुकमा साथी भएपछि कुरा सुरु भएको बताएकी छन्। चिनजान हुँदै गएपछि दुई पटक नवराजको घरमा समेत गएको र बसेको स्वीकार गरेकी छन्।

२०७६ साल पुस १४ गते खंलगामा रमाइलो मेला हेरेर फर्किंदा र पुषमै फेरि साथीको भाइको जन्मदिनमा जाँदा नवराजको घरमा बसेको उनको भनाइ छ।

नवराजले विवाह गरौं भने पनि आफूले उमेर सानै भएकाले तत्काल बिहे गर्न अस्वीकार गर्दै आएको उनले बताएकी छन्। पछि नवराज दुई पटक साथीसँग घरमा आएको उनले बताएकी छन्।

उनले आफू घटनास्थलमा नगएको र दिउँसो के के भयो थाहा नपाएको बताएकी छन्। राति उनीहरुलाई लखेट्नेहरुले घरमा आएर आमासँग कुरा गरेपछि दुईजना भेरी नदीमा बगेको सुनेको बताएकी छन्।

नवराजको मृत्यु भएको भोलिपल्ट फेसबुकमा साथीहरुसँग कुरा भएपछि मात्रै थाहा पाएको उनले बताएकी छन्।

युवतीका दाइले मोटरसाइकलमा गएर लखेटेको र लाठी, ढुंगाले हानेर मारेर भेरी नदीको भंगालोमा फालिदिएको बयान दिएका छन्।

यता, वडा अध्यक्ष डम्बरबहादुर मल्लले भने घटनामा आफ्नो संलग्नता नभएको बयान दिएका छन्। उनले प्रहरीलाई दिएको बयानमा आफूले कुटपिट नगरेको र कसले मार्‍यो भन्ने पनि थाहा नभएको बताएका छन्।

आफू वडा कार्यालयनजिकै क्वारेन्टिन व्यवस्थापनमा खटिइरहेका बेला फोन आएको र आफूलाई फोन आएको १०÷१५ मिनेट पछि इलाका प्रहरी कार्यालय रुकुम पश्चिममा फोन गरेर उनीहरुलाई नियन्त्रणमा लिन भनेको बताएका छन्।

आफूले गाउँलेलाई कति जना केटाहरु छन् गन्ती गर्न र निगरानी गरिराख्न मात्रै भनेको मल्लको बयान छ। उनले घटनास्थलमा प्रहरीलाई बोलाएको र नियन्त्रणमा लिएकाहरुलाई जिम्मा लगाएको दाबी गरेका छन्।

२१ जनाविरुद्ध जन्मकैद माग

जिल्ला सरकारी वकिल कार्यालयले २१ जनाविरुद्ध जन्मकैद सजायको माग गरेको छ। ३४ जनालाई प्रतिवादी बनाएर आइतबार अभियोगपत्र अदालतमा दर्ता गरिएको छ। तीमध्ये डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, इर्दबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, विराज पुनमगर, सविन पुन र अन्य फरार विरुद्ध जन्मकैदको सजाय माग गरिएको छ।

उनीहरुविरुद्ध जातीय भेदभाव तथा छुवाछुतको मुद्दा पनि लगाइएको छ।

इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल, दीपेन्द्र चन्द, रमित पुन मगर, नवीनकुमार जीएमलाई भने ज्यान मार्ने उद्योगमा सजाय मागदावी गरिएको छ।

उनीहरुमाथि घटनाको मुख्य आरोपीलाई सहयोग गरेको र घटनाबारे थाहा पाएर पनि सम्बन्धित निकायलाई खबर नगरेको अभियोग छ।

नवराजकी प्रेमिकालाई बालसुधार पठाउन आदेश

चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा मुछिएका दुई नाबालकलाई अदालतले बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।

अदालतका न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा मुछिएका प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्जस्थित सुधार गृहमा पठाउन आदेश दिएको हो । अदालतका स्रेस्तेदार क्रित बोहोराले दुई नाबालकलाई सुधार गृह पठाउन आदेश दिएको पुष्टि गरे ।

दुवैको थुनछेक बयान र बहस आज भएको थियो । भोलिदेखि अरू अभियुक्तको बयान सुरू हुनेछ । क्रुरतापूर्वक हत्या गरेकोमा कानुन अनुसार बाँचुन्जेल कैद सजाय माग गरिएको छ । ३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन् ।