Thursday, 21, January, 2021

नेपाल-भारत सीमामा भारतीयबाट सशस्त्र प्रहरीको हतियार खोस्ने क्रम बढ्दो

सर्लाही, ३० जेठ – नेपाल-भारत सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको पर्सा गाउँपालिका–३, नारायणपुर नाकामा शुक्रबार सशस्त्र प्रहरी र भारतीयहरु बीच झडप हुँदा पाँच जना घाइते हुनुका साथै एक जनाको मृत्यु भएको छ ।

आज बिहान भारतीयहरूले जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले उनीहरुलाई रोकेको थियो । नेपालतर्फ जबरजस्ती प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरी र भारतीयहरु बीच झडप समेत भएको थियो । झडपकै क्रममा भारतीयहरूद्वारा सशस्त्र प्रहरीको हतियार समेत खोसेर आउन खोजेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागी भारतको प्रिपा प्रसाइन जानकीनगरका २७ वर्षीय विकेश कुमारको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिनु भएको छ ।

झडपको क्रममा सशस्त्र प्रहरीतर्फ तीन जना जवान र दुई जना भारतीय नागरिक घाइते भएका छन् । जिल्ला अस्पताल मलङ्गवामा घाइते सशस्त्र प्रहरीको र सीमापारीको अस्पतालमा भारतीयहरूको उपचार भइरहेको छ । भारतीयहरूले खोसेर लगेका हतियार फिर्ता ल्याइसकिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नेपाल-भारत सीमामा कडाई गरेपछि भारतीय र सशस्त्र प्रहरीहरु बीच दैनिक जस्तो झडप हुँदै आएको छ ।