Thursday, 23, September, 2021

अरु देशसंग वार्ता गरिरहेको भारत नेपालसंगको वार्तामा किन हिच्किचाउँदै ?

काठमाडौं । नेपालसँग कोरोना भाईरसको अन्त्यपछि मात्र वार्ता गर्ने भनेको भारतले अन्य देशसंगको वार्तालाई भने प्राथमिकता दिईरहेको छ ।
नेपालसँग सीमा विवाद भइरहेकै बेला भारतको चीनसँग पनि सीमा विवाद चर्किरहेको छ। तर, उत्तरी छिमेकी चीनसँग भने भारतले यहि कोरोना संकटको बीचमा पनि निरन्तर वार्ता गरिरहेकै छ। यी दुई मुलुकले उनीहरुका कुटनीतिक र सैन्य माध्यममार्फत् सीमा समस्याबारे वार्ता जारी राखेका छन्।

चीन र भारतका उच्चस्तरका सैन्य अधिकारीबीच शनिवार भएको वार्तामा कूटनीतिक र सैन्य वार्ताबाट समस्या समाधान गर्ने सहमति भएको छ ।

लद्दाखको सीमाक्षेत्र नजिकै सौहार्दपूर्ण रुपमा सम्पन्न भएको उक्त वार्ता स्थिति नियन्त्रणमा लिने विषयमा सकरात्मक रहेको आइतवार भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जानकारी दिएको छ।

वार्तामा दुवै तर्फबाट उत्पन्न सैन्य गतिरोध समाधान गर्न प्रतिबद्धता व्यक्त भए पनि कुनै ठोस निश्कर्षमा पुग्न नसकेो जनाइएको छ।

सौहार्दपूर्ण र सकारात्मक वातावरणमा भएको वार्तामा दुवै पक्ष सीमामा कायम अवस्थाको शान्तिपूर्ण तरिकाबाट समाधान गर्न सहमत भएका छन् – मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

भारतीय पत्रिका दी हिन्दुका अनुसार दुवै पक्षले आ(आफ्ना असन्तुष्टीहरू राखेका थिए । भारतीयले पक्षले सीमा क्षेत्रमा राखिएका चिनियाँ उपकरण फिर्ता गर्नुपर्ने र चहलपहललाई घटाउनुपर्ने प्रस्ताव गरेको थियो । चिनियाँ पक्षले उक्त क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तत्काल रोक्नुपर्ने प्रस्ताव गरेको थियो ।

दी हिन्दुले आफ्नो स्रोतलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार भारतीय पक्षले भौतिक संरचना निर्माणको कार्यलाई तत्काल रोक्ने छैन ।

कुनै ठोस नतिजामा पुग्न नसकेको उक्त वार्तामा उठेका बिषय दुवै पक्षले आ(आफ्ना देशका सरकारलाई अवगत गराउने र सोही अनुसार थप वार्ताको वातावरण बन्ने जनाइएको छ ।

लद्दाखमा गएको अप्रिलमा दुवै देशको सैन्य चहलपहल बढैपछि विगत लामो समयदेखि जारी तनाव पुनस् ब्युतिएको हो । उक्त क्षेत्रमा चिनियाँ र भारतीय सेनाहरूबीच पटकपटक झडप समेत हुने गरेको छ ।