Saturday, 16, January, 2021

विज्ञ भन्छन् : लकडाउन खोले भयाभह अवस्था आउन सक्छ

काठमाडौं । नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भन्दै विज्ञहरुले सजक हुन सुझाएका छन् ।

चीनको थोेङ्सी मेडिकल कलेज वुहानका रिसर्च स्कलर डा. रमेश आचार्यले नेपालमा आगामी तीन महिना (जुन, जुलाई र अगस्ट)मा जोखिम अझै बढेर जान सक्ने र भेन्टिलेटरको अभावमा मृत्युदर बढ्न सक्ने भन्दै कम्तिमा १० हजार भेन्टिरलेटर स्ट्यान्डबाई अवस्थामा राख्नुपर्ने सुझाव दिएका छन् ।

डा. आचार्यले दिएको मुख्य सुझावहरु

– १० हजार चिकित्सक र ५० हजार नर्स तयारी अवस्थामा राख्नुपर्ने
– नेपालमा जुन, जुलाई र अगस्ट थप चुनौतीपूर्ण
– सयवटा पीसीआर मेसिन अत्यावश्यक
– ७७ वटै जिल्लालाई ‘हाइरिस्क जोन’मा राख्नुपर्ने
– भारतबाट अझै २ लाख फर्कन सक्ने

जोखिमबाट बच्ने उपाय

– देशैभर प्रेसर, सुगर, दम र मिर्गौलाका रोगीको पहिचान गरी आइसोलेसनमा राख्न लगाउने
– अस्पतालमा आउने सबै प्रकारका रोगीको पीसीआर टेस्ट नगरी अस्पताल भर्ना नगर्ने
–पीसीआर रिपोर्टबिना एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने
– क्वारेन्टिनबाट भाग्नेलाई कम्तीमा तीन महिना जेल राख्ने नियम बनाउने
– देशैभर क्वारेन्टिनमा भएका व्यक्तिमा प्रत्येक दिन ज्वरो, प्रेसर र दम भए–नभएको रेकर्ड राख्ने
– कम्तीमा २० हजार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ट्रेनिङ दिई ट्र्याकिङ, ट्रेसिङ र टेस्टिङमा खटाउनुपर्ने

अहिले देशभरमा १ हजार ५ सय ९५ आइसीयू बेड र ८ सय ४० वटा भेन्टिलेटर मात्रै छन् । पछिल्लो समयमा नेपालमा कोरोना भाइरस संक्रमणको दर एक्कासि बढ्दै जान थालेकाले यसले भयावह रूप लिन सक्ने भन्दै सरकारले विशेष सतर्कता अपनाउनुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका हुन् ।

यसैगरि, नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला कोभिड–१९ फैलिने अर्को लहर आउनसक्ने भन्दै त्यसका लागि व्यवस्थित तयारी हुनुपर्नेमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अनुवांशिक वैज्ञानिक गिरी त्रिपाठीले जोड दिएका छन् ।

कोरोना कुनैपनि मौसममा फैलनसक्ने भाइरस भएकाले यसको जोखिम नेपालमा सधैँ भइरहने यनले बताए । नेपालले कोरोनाको संक्रमण व्यवस्थापनमा काम नै गर्न नसकेको र मुख्य जोखिम बल्ल सुरु हुन थालेको उनको भनाई छ । पछिल्ला केहि दिनयता नेपालमा दैनिक २ सयभन्दा बढी संक्रमित देखिइरहेका छन् ।

त्यसो त अहिलेसम्म देखिएका अधिकांश संक्रमित छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएकाहरुलाई परीक्षण गर्दा देखिएको विज्ञहरु बताउँछन् । लकडाउनका कारण कोरोना धेरै फैलिन नपाएको र अहिलेसम्मको संक्रमण आयातित नै भएको उनीहरु बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा.अनुप बास्तोलाले पनि हालसम्म देखिएका संक्रमित आयातित भएपनि स्थानीय संक्रमणको लहर भने अब सुरु हुनसक्ने बताए । लकडाउन खुकुलो पार्ने बित्तिकै सबैतिर देखिन थाल्ने उनको भनाई छ ।

निरन्तरको लकडाउनले दैनिक जीवन मारमा परेको भन्दै व्यवसायीदेखि सर्वसाधारणले समेत लकडाउन उलंघन गर्न थालिसकेका छन् ।