Saturday, 23, January, 2021

हङकङ चीनको अभिन्न अंग हो : नेपाल

काठमाडौं । नेपालले हङकङ जनवादी गणतन्त्र चीनको अभिन्न अंग भएको बताएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार जारि गरेको प्रेस नोटमा हङकङ चीनको अभिन्न अंग भएको स्पष्ट पार्दै त्यहाँको शान्ति सुरक्षा र कानुन व्यवस्था स्थापित गर्ने काम चीनको आन्तरिक मामिला भएको स्पष्ट पारेको हो । नेपालले कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपलाई अस्वीकार गर्दै आएको छ । नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको पनि परराष्ट्र मन्त्रालयले पुनः स्पष्ट पार्दै हङकङबारे चिनियाँ नीतिलाई समर्थन गर्ने जनाएको छ ।

चिनियाँ संसद पिपुल्स कांग्रेसले हङकङमा आन्तरिक सुरक्षा कानुन लागु गर्ने निर्णय गरेसँगै अमेरिकाले चीनविरूद्ध कारवाही गर्नेगरी कानुन बनाएको छ ।

अमेरिकाकै पछिपछि बेलायतले पनि हङकङमा चिनियाँ हस्तक्षेप गर्दै आफ्नो स्वार्थ रक्षा गर्न चीन विरूद्ध प्रतिबन्धसम्म लगाउने चेतावनी दिएको छ ।

चीनले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार गर्दै अमेरिका र बेलायतलाई चेतावनी दिएको छ ।

हङकङमा प्रजातन्त्रको नाममा गत वर्ष चीन विरूद्ध हिंसात्मक प्रदर्शन भएको थियो । सो प्रदर्शनलाई अमेरिकाले सहयोग गरेको थियो । अफिम युद्धमा चीनलाई पराजित गरेपछि हङ्कङ बेलायतको उपनिवेश रहेको थियो । सन् १९९७ मा ‘एक देश दुई प्रणाली’ अन्तर्गत चीनको अधिनमा आएको थियो ।