Friday, 16, July, 2021

राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख र विपक्षी दलका नेतालाई नयाँ नक्सा बुझाइयो

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएकी छन् । शुक्रबार नेपाल राजपत्रमा प्रकाशित नक्सा उनले दिउँसो राष्ट्रपति निवास शितल निवास पुगेर बुझाएकी हुन् ।

शुक्रबारै उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्लिसना र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि नक्सा बुझाइन् ।

बुधबार भूमि व्यवस्था मन्त्रालयले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।