Friday, 23, April, 2021

नेपालको नयाँ नक्सा बुधबार सार्वजनिक गर्ने

काठमाडौं । सोमबारको मन्त्रिपरिषदबाट पारित भएको नेपालको नयाँ नक्सा बुधबार सार्वजनिक गर्ने तयारी गरिएको छ । लिम्पियाधुरा सहित समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

नयाँ नक्सा भोलि (बुधबार) सार्वजनिक गर्ने तयारी भएको भूमि व्यवस्था मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री पद्या अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने भएकी हुन् ।

नीति तथा कार्यक्रम मार्फत् सरकारले नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेको थियो । २ जेठ बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि सरकारले नीति तथा कार्यक्रम, मन्त्रिपरिषद बैठक हुँदै प्रक्रिया अगाडि बढाएको हो ।

मंगलबार नीति तथा कार्यक्रम माथि उठेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले चाँडै नक्सा सार्वजनिक गर्ने बताएका थिए । बुधबार नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको सरकारले संविधान संशोधनको प्रक्रिया समेत अगाडि बढाएको छ ।

सरकारका उच्च स्रोतका अनुसार, संविधानको अनुसूची–३ मा राखिएको नेपालको नक्सा संशोधन गर्नेगरी संविधान संशोधन प्रक्रिया अगाडि बढाइएको छ ।

भारत सरकारले नेपालको भूमि अतिक्रमण गरी सडक उद्घाटन गरेपछि नेपालले पनि नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले नक्सा सार्वजनिक भएकाले अब कुटनैतिक तवरबाट भूमि फिर्ता लिने प्रक्रिया अगाडि बढाउने बताएका छन् । भारतीय पक्षबाट भने विदेश मन्त्रालय प्रवक्ताले महामारीको अन्त्य पछाडि छलफल गर्ने प्रतिक्रिया दिएका थिए । तर, नेकपा सरकारले महामारीको मौका छोपेर अतिक्रमण गरिएकाले तत्काल वार्ताका लागि आह्वान गरेको छ ।

गएको नोभेम्बरमा मात्रै भारतले कश्मीर सहितको राजनीतिक नक्सा सार्वजनिक गरेको थियो ।