Thursday, 23, September, 2021

नागढुंगामा स्वास्थ्यकर्मीमाथि युवाहरुको दुर्व्यवहार (भिडियोसहित)

काठमाडौं । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमतीका प्रमुख नारायण कार्की शुक्रबार हेटौंडाबाट काठमाडौं फर्कँदै थिए । कोरोना परीक्षणका लागि हेटौंडामा भर्खरै सञ्चालनमा ल्याइएको ल्याबको व्यवस्थापन सकेर कार्की काठमाडौं आउँदै थिए । वरिष्ठ मेडिकल प्रयोगशाला विशेषज्ञ कार्की कोरोना भाईरस न्यूनिकरण र ल्याबको व्यवस्थापनका लागि निरन्तर खटिरहेका छन् ।
आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउने उत्तम कार्कीसहित केही युवाले उनको गाडीलाई रोकेर अनुसन्धानमा खटिएको सुरक्षाकर्मीले जस्तै केरकार गरि दुर्व्यवहार  गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।

त्यो दृश्यलाइ आफूलाई सामाजिक अभियान्ता भनेर चिनाउने उत्तम कार्की नामका युवाले आफ्नै फेसबुकबाट लाइभ गरेका थिए । युवाको समूहले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्दा पनि प्रहरीले रोकेन। अवरोधपछि कार्कीलाई हेटौँडा नै फर्काइएको थियो । उनि शनिबार साँझ मात्रै काठमाडौं आइपुगे ।

त्यो भिडियोमाथि धेरै नकरात्मक प्रतिक्रिया आएपछि उत्तम कार्कीले फेसबुकबाट भिडियो हटाएका छन् । गृह मन्त्रालय तथा स्थानीय प्रशासनहरुले जारी गरेका नियममा लकडाउनका बेला स्वास्थ्यकर्मीका लागि यात्रा गर्न पास नचाहिने उल्लेख गरिएको छ ।  कोरोना महामारीका बेला फ्रन्टलाइनमा खटिएका स्वास्थ्यका एक वरिष्ठ अधिकारीलाई केही व्यक्तिको झुण्डले कुरै नबुझी अवरोध गर्दा स्वाथ्यकर्मीको मनोबल घट्ने भन्दै स्वास्थ्यकर्मीहरुले ती युवाहरुलाई कारबाहीको माग गरेका छन् ।