Tuesday, 20, April, 2021

कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड–१९) ले एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन् ।

वैशाख ३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर २४ गते नर्मल डेलिभरी भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको बिहीबार मृत्यु भएको थियो। नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी उनलाई ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो। उपचारपछिसमेत विभिन्न शारीरिक समस्या आएपछि बिहीबार थप उपचारका लागि धुलिखेल अस्पतालमा आउँदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो ।

स्वासप्रश्वासमा समस्या आएपछि कोरोना परीक्षणमा उनको आरडिटि रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि गरिएको पीसीआर परीक्षणको रिपाेर्टसमेत पोजिटिभ आएको थियो।

२०७६ माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको नेपालमा कोरोनाले पहिलो पटक ज्यान लिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार कोरोनाकै कारण महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।

उनको मृत्युपछी धुलिखेल अस्पताल र बाह्रविसे नगरपालिका वडा नम्बर ६ सिल गरिएको छ । ति ठाउँमा भोली विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पीसीआर परीक्षण गर्ने सरकारको तयारी छ ।

नेपालमा २ सय ८१ जनामा कोरोना पुष्टि हुँदा एक जनाको मृत्यु भएको हो । ३६ जना निको भएका छन् । शनिबार राति नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो ।