Thursday, 23, September, 2021

भारतसँग वार्ता गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता

काठमाडौँ । कांग्रेसका चार सांसदले सोमबार संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । नेपाल, भारत सीमा विवादको समाधान खोज्न सरकारले तत्काल कुटनीतिक र राजनीतिक पहल अघि बढाउन माग राख्दै कांग्रेसले संकल्प प्रस्ताव दर्ता गरेको हो ।

कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडू, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट र प्रकाश रसाइलीले दर्ता गरेको संकल्प प्रस्तावमा प्रधानमन्त्री केपी ओलीको यसअघिको सर्वदलीय, सर्वपक्षीय तथा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनअनुसार तत्परता नदेखाएको आरोप लगाएका छन् ।

समितिको निर्णयअनुसार त्यस क्षेत्रको अनुमगनका लागि सांसदहरुलाई रक्षा मन्त्रालयले हेलिकप्टरसमेत उपलब्ध नगराएको तर स्वयं वर्तमान सरकारको रक्षा मन्त्री आफ्ना पार्टीका केही नेता एवं कार्यकर्तासहितको टोलीले उक्त क्षेत्रको हवाई निरीक्षण गरेको उल्लेख गर्दै संकल्प प्रस्तावमा सरकार नै सीमा विवाद सल्टाउने बिषयमा संवेदनशील नबनेको उल्लेख गरिएको छ ।

‘देशको भौगोलिक अखण्डताजस्तो गम्भीर विषयमा समेत सरकारबाट भएको अनपेक्षित विलम्बका कारण सीमा विवादका विषय अझै जटिल र संवेदनशील बन्दै गएको छ,’संकल्प प्रस्तावमा उल्लेख छ ।