Friday, 23, April, 2021

भारतीय अतिक्रमणविरुद्ध बुटवलमा प्रदर्शन

रुपन्देही : मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको विरोधमा बुटवलमा प्रदर्शन गरेको छ । समाजले बुटवलमा सोमबार दिउँसो सवा २ देखि पौने ३ बजेसम्म सामाजिक दूरी कायम गरी प्ले कार्डसहित प्रदर्शन गरेको हो ।

विरोध कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले लिपुलेक सडक निर्माण तत्काल रोक्नुपर्ने र लिपुलेकसहित नेपालको नक्सा सार्वजनिक गर्न नेपाल सरकारले ठोस पहल गर्नुपर्ने बताए । कुनै पनि देशको राष्ट्रियता,अखण्डता, एकता र सद्भावमा अर्को देशले खलल पुर्‍याउने गतिविधि अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा हुने उनले बताए ।

विरोधमा सहभागीले लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेकसहित नेपालको नक्सा सार्वजनिक गर, भारतीय सेना कालापानीबाट फिर्ता गरजस्ता नारा लेखिएका प्लेकार्ड बोकि प्रदर्शनमा उत्रिएका थिए ।