Saturday, 28, November, 2020

विद्यार्थीलाई अन्धकारमा नराख्न सरकारलाई युवा नेता भण्डारीको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले लकडाउनले देशको भबिष्य नै अन्धकारमा परेको बताउदै सरकारलाई एजुकेसन गेम चेन्जर रोड म्यापसहित चेतावनी दिएका छन् । उनले सरकार र पार्टीले अनुमती दिए आफूसहित नेपाली कांग्रेसका १ लाख तरुण विद्यार्थीलाई ६ महिना निशुल्क टोल स्वयंसेवक शिक्षक बनेर राष्ट्रका कर्णधार बालबालिका र क्याम्पसका विद्यार्थीलाई शिक्षाको उज्यालो ज्ञान छर्ने सेवा गर्न तयार रहेको बताएका छन् ।

हाल काठमाडौं मेडिकल कलेज र ईन्जिनियरिङ क्याम्पसहरुको संचालक समेत रहेका नेबिसंघका पुर्व कावा केन्द्रीय अध्यक्ष भण्डारीले सरकारले कोरोना संकटलाई अवसरमा बदलेको आरोप लगाएका छन् । बेरोजगारी बढाउने र युवालाई खाडी पठाउने रटन्ते शिक्षा प्रणालीलाई बदल्नुपर्ने बताउँदै युवा नेता भण्डारीले अब नयाँ युगमा प्रबेशको उद्घघोष शिक्षा मन्त्री र मन्त्रालयले नगर्ने हो भनेर आफुहरु एजुकेशन गेम चेन्जर रोडम्यापसहित अगाडी बढ्ने चेतावनी दिएका छन् ।

युवानेता भण्डारीले आज धनीवर्ग र हुनेखाने नेताकर्मचारी, ब्यापारीका छोराछोरीले महँगो बोर्डिङमा बच्चा पढाउने तर गरिबलाई हरेक बर्ष शैक्षिकसत्र भन्दा ढिलो जनक शिक्षामा पुस्तक छापेर बाडेर निस्किएको झिनो परिणामको लागि खर्बौ रकम र समयको बर्बादी रोक्नुपर्ने बताए । निजि विद्यालय र कलेजभन्दा सरकारी शिक्षाको रिजल्टमा कमजोरी देखाउने काम बन्द गर्न पनि उनले आग्रह गरेका छन् । भण्डारी भन्छन्, राज्यको कुल बजेटको अर्बौं रुपियाँ सरकारी बिद्यालयमा खर्च गर्दा भ्रष्टाचार र अदक्ष व्यक्तिहरु नियुक्तिले अपेक्षित परिणाम निस्किएन र भारतदेखि खाडी मुलुकमा पलायन बढेकोले बिकल्पमा देशको बिपन्न बर्गका विद्यार्थीलाई निशुल्क ल्यापटप र ईन्टरनेट प्याकेज दिएर भर्चुअल शिक्षा दिनु अनिवार्य भएको छ ।

त्यसैले नयाँ बजेटमा सरकारले ढिलो नगरिकन नेपाल टेलिकम र सबै निजि ईन्टरनेट सेवाप्रदायक कम्पनीलाई करमा कट्टा सम्झौता गरि विद्यार्थीलाई पढन चाहिने सम्मको ईन्टरनेट निशुल्क गर्नुपर्छ । हिमालपाहड र तराईका गाउँ कान्दाराको टोलमा उपलब्ध घुम्ती स्वयंसेवक शिक्षक मार्फत कम्तिमा अफ्ट्यारो ४ बिषयको भएपनि सामाजिक दुरि सहित टोलछिमेकमा पढाई अबिलम्ब शुरु गर्न निजि तथा सरकारी विद्यालय र क्याम्पसलाई मेरो आव्हान छ । उनले भने नेपालमा ईन्टरनेटको पहुँच बाहिरको ग्रामिण क्षेत्रमा सरकारले नेटवर्क क्षमता बढाउनुपर्छ भने त्यसको मूल्य पनि घटाउनुपर्छ ।

नेपालको पटकपटक लोकतान्त्रिक आन्दोलनको लागि लडेको कांग्रेस अनि नेबिसंघ, तरुण दलसहित सबै भातृ र शुभेच्छुक संघसंगठनले नागरिकको शिक्षाको अधिकार कुन्ठित हुन नदिन लाग्नुपर्ने अवस्था आएको उनको भनाई छ ।